पत्रकार महासंघको ‘राष्ट्रिय मिडिया सम्मेलन’ : सदस्यता सुद्धिकरण प्रमुख एजेण्डा

40

पत्रकार महासंघको ‘राष्ट्रिय मिडिया सम्मेलन’ : सदस्यता सुद्धिकरण प्रमुख एजेण्डा

नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनमा महासंघको सदस्यता सुद्धिकरणलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिएको छ ।
यहि चैतको १७ गते लुम्बिनीमा आयोजना गरिएको राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता सुद्धिकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक संकट तथा पत्रकारितासंग सम्बन्धित कानुनका विषयलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिएको राष्ट्रिय मिडिया सम्मेलनको बारेमा जानकारी गराउन बुधबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले बताउनु भयो ।
‘महासंघमा सदस्यता सुद्धिकरणको मुद्धा सधै उठ्ने गरेको छ र सदस्यताको प्रारम्भ र अन्त्यसम्म शाखाको भूमिका हुन्छ ।’ उहाँले भन्नुभयो–‘शाखाहरुले निर्णय लिन सक्ने हो भने केही न केही गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।’ राष्ट्रिय मिडिया सम्मेलनमा त्यसबाहेक पत्रकारहरुको समस्या र मिडियामा आर्थिक संकटको कुरा उठाएको उहाँले बताउनु भयो ।
पछिल्लो समयमा मुलुकमा आर्थिक संकट सिर्जना भएको र त्यसका कारण होस् या अन्य कारणबाट उत्पन्न भएका पत्रकारहरुको समस्या पहिचान गर्ने र समाधानको लागि पहल गरिने छ भने मिडिमा उत्पन्न भएको आर्थिक संकट समाधानको लागि के गर्न सकिन्छ भन्ने कुराको समेत खोजी गर्न लागिएको हो ।
अर्को अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पत्रकार र मिडियासंग सम्बन्धित विद्ययेकहरु निर्माणका क्रममा रहेको तथा कतिपय विद्ययेकहरु निर्माण भईसकेका छन् । बनिसकेका विद्ययेकमा भएका नराम्रा कुराहरु केलाउने र बन्ने क्रममा रहेका विद्येयकलाई कसरी पत्रकार र मिडियामैत्री बनाउन सकिन्छ भन्ने विषयमा बहस गरिने अध्यक्ष पोखरेलले जानकारी गराउनु भयो ।
उक्त राष्ट्रिय मिडिया सम्मेलनमा ४० शाखाका अध्यक्ष, प्रदेश समितिका अध्यक्ष र महासचिव, केन्द्रीय समिति तथा सल्लाहकारहरु, मिडिया क्षेत्रका विज्ञ, प्रतिनीधिमुलक रुपमा मिडियाका लगानीकर्ता र सरकारी निकायका प्रतिनीधिहरु गरी २ सय जना भन्दा बढीको सहभागिता रहने उहाँले जानकारी गराउनु भयो ।
राष्ट्रिय मिडिया सम्मेलनको उद्घाटन सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले गर्नुहुने छ । त्यस्तै संघीय सरकारका अन्य मन्त्रीहरु तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई समेत आमन्त्रण गरिएको र यसको तयारीमा नेपाल पत्रकार महासंघ रुपन्देही, नवलपरासी र कपिलबस्तु शाखाहरु खटिएको महासचिव रोषन पुरीले जानकारी गराउनु भयो ।
नेपाल पत्रकार महासंघको भोली बिहिबार ६८ औं स्थापना दिवस मनाईँदै छ । महासंघले यस पटक उपत्यका बाहिर स्थापना दिवस मनाउने तयारी गरेको छ । जस अन्तरगत भोली बिहान नवलपरासीको परासीमा प्रभातफेरी कार्यक्रम गरिने छ । त्यस्तै भोली नै दिउँसो नवलपरासीमा महासंघको पूर्ण बैठक बोलाईएको उहाँले जानकारी गराउनु भयो । उक्त बैठकमा प्रदेशका अध्यक्ष र महासचिवलाई पनि बोलाईएको छ ।
स्थापना दिवसकै अवसरमा भोली नै साँझ शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने उहाँले जानकारी गराउनु भयो । स्थापना दिवसकै सन्दर्भ पारेर लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन गर्न लागिएको उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सदस्यता सुद्धिकरणको अभियानमा जिल्ला शाखा केन्द्रीय समितिसंग संगसंगै रहेको बताउनु भयो । कार्यक्रम महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काको सञ्चालनमा भएको थियो ।