रुपन्देहीकाे तिलाेत्तमा उद्याेग वाणिज्य संघले प्रकाशन गरेकाे नयाँ वर्ष २०८० काे क्यालेण्डर विमाेचन गरिएकाे छ । तिलाेत्तमा उद्याेग वाणिज्य संघमा बुधबार आयाेजित कार्यक्रममा तिलाेत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उक्त क्यालेण्डर (भित्तेपात्राे) विमाेचन गर्नु भएकाे हाे ।
त्यस अवसरमा बाेल्दै नगरप्रमुख खाँणले सरकार र उद्याेगी व्यवसायी एक सिक्काका दुई पाटा भएकाे बताउनु भयाे ।
उहाँले नगरपालिका यस क्षेत्रमा उद्योग व्यवसाय प्रवद्धन तथा उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना, कृषिमा व्यवसायिक विकास गरी उत्पादन बढाउने काममा अग्रसर भएर लागेको बताउनु भयाे । तिलोत्तमा नगरपालिकाले संघलाई सल्लाहकारको रुपमा देखेको बताउदै उहाँले अहिलेको यो असहज परिस्थितिमा यस क्षेत्रका उद्योगी व्यवसायीका समस्या समाधानका लागि नगरपालिकाले गर्नुपर्ने काम गर्न पनि तयार रहेकाे बताउनु भयाे ।
त्यस अवसरमा संघका अध्यक्ष गुणनिधी भण्डारीले मुलुकमा उत्पन्न भएकाे आर्थिक संकटका कारण उद्याेगी व्यवसायी मारमा परेकाे बताउदै व्यवसायमैत्री वातावरण बनाईदिन नगरप्रमुख खाँणलाई आग्रह गर्नु भयाे । उहाँले संसंगै स्थापना भएकाे संघ र नगरपालिका विच विगतमा पनि सहकार्य भएकाे स्मरण गर्दै आगामी दिनमा पनि सहकार्य हुने विश्वास व्यक्त गर्नु भयाे ।
संघका सल्लाहकार नवराज श्रेष्ठले तिलोत्तमा नगरपालिका भित्र विभिन्न क्षेत्र विभाजन गरी छुट्टा-छुट्टै शहरी क्षेत्र, कृषि क्षेत्र, आवास क्षेत्र व्यवस्था गर्न आवश्यक भएको बताउनु भयाे । उहाँले सिक्सलेन सडक सँगसँगै ट्राफिक व्यवस्थापनमा थप चुनौति भएकाले वाइपास सडक र ट्रक स्टेशन बनाउनु पर्नेमा पनि जाेड दिनु भयाे ।
त्यस अवसरमा संघका उद्याेग उपाध्यक्ष तथा क्यालेण्डर प्रकाशन समितिका संयाेजक सुरज पंगेनीले संघका गतिविधि समेत समेटेर जानकारीमूलक क्यलेण्डर प्रकाशन गरिएका बताउदै यसले उद्योग व्यवसायको प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयाे ।
संघका कार्यालय प्रमुख लोकनाथ खनालको सञ्चालनमा भएको कार्यक्रममा सल्लाहकार कृष्ण गाैतम ग्यास बस्तुगत समितिका संयोजक शालिकराम वोस्ती लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।