मिथ्या सूचना रोक्न सेल्फ सेन्सरशिप उपयुक्त

76

मिथ्या सूचना रोक्न सेल्फ सेन्सरशिप उपयुक्त

नेपाली मिडियामा आउने मिथ्या सुचना न्यूनीकरण गर्न पत्रकारहरुनै सजग हुनुपर्ने कुरामा जोड दिईएको छ । मिथ्या सुचना न्यूनीकरण गर्न सेल्फ सेन्सरसिपनै महत्वपूर्ण पाटो भएको उनिहरुको भनाई थियो ।
नेपालको संविधानमा नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनीहरुले पत्रकारीता पेशालाई ब्यवसायिक र मर्यादित बनाउन पत्रकारहरुनै लाग्नुपर्ने बताए ।
आइतबार सेन्टर फर सोसियल ईन्क्लुसन एण्ड फेडेरेसन (सेसिफ) को आयोजनामा बुटवलमा आयोजित नेपाली संचारमा गलत सूचनाबारे रुपन्देहीका सरोकारवालाहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्ने सहभागि पत्रकारहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा वरिष्ठ पत्रकार हरिबहादुर थापाले संचारगृहबाट गलत सुचना दिदा एउटा समुदायमा मात्रै नभएर देशमा नै ठूलो हिंसात्मक अवस्था उत्पन्न हुन सक्नेतर्फ पत्रकार सचेत हुनुपर्ने बताउनु भयो । उहाँले नेपालमा मिथ्या सूचनाका कारण ऋतिक रोशन काण्ड, नागरिकता लिन लाईन समाचार, एमसिसि काण्ड, २०१८ असोज २९ गते चीनसंग सम्झौता भएको कोदारी राजमार्ग, ढल्केवार–काकडभित्ता सडक खण्ड जस्ता घटना घटेको स्मरण गराउनु भयो ।
शासकीय रबैया, युद्धको औजारका रुपमा संचार क्षेत्रलाई प्रयोग गरिने परिपाटी समेत परापुर्वकालदेखि रहेको बताउँदै उहाँले एकपक्षिय रुपमा लेखिएका समाचार भाईरल हुने गरेको औंल्याउनु भयो ।
पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण सस्क्राइब बढाउने देखि कसले, कहाँ, किन र कुन समयले यसको उत्पादन गर्छ भन्ने जस्ता समस्या रहेको उहाँको भनाई छ ।
अन्तर्राष्ट्रिय सहयोगमा सञ्चालित अधिकांश परियोजनाका विषयमा कमिसन एजेन्टहरुले आफु अनुकुलका अफवाह फैलाउने गरेको भन्दै उहाँले हल्लाको आधारमा नभएर पत्रकारहरुले तथ्यको आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने आबस्यकता औल्याउनु भयो ।
सेन्टर फर सोसियल ईन्क्लुसन एण्ड फेडेरेसनका रिसर्च एण्ड प्रोग्राम कोर्डिनेटर अर्पण गेलालले मुलधारका मिडियामा पनि गलत तथा मिथ्या सूचना आउने गरेको बताउँदै त्यसले सबैभन्दा बढी अन्तर्राष्ट्रिय सम्बन्धमा असर पारेको बताउनु भयो । उहाँले त्यसका कारण सञ्चार माध्यम माथि नै अविश्वास पैदा हुने हो की भन्ने चिन्ता परेको बताउँदै त्यसलाई कसरी हटाउन सकिएला भन्ने उद्देश्यले बहसको थालनी गरिएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको हँुदा पनि यसको सही विकल्प सेल्फ सेन्सरसिप भएको बताउनु भयो । ‘आफुले बोलेको र गरेका कुरामा नियन्त्रण कायम गर्न र आलोचनाबाट बच्न यो उपयुक्त पाटो हो ।’ उहाँले भन्नुभयो । मिथ्या सूचनाको नियन्त्रण नभई न्यूनीकरणका लागि नियगमन गर्न जरुरी रहेको उहाँको भनाई छ । मूलधारका मिडियाभन्दा सामाजिक सञ्जालमा सबैभन्दा बढी मिथ्या समाचार आउने गरेको उहाँले बताउनु भयो ।