उद्योगी व्यवसायीलाई राहतको व्यवस्था गर्न माग

1.3K

उद्योगी व्यवसायीलाई राहतको व्यवस्था गर्न माग

रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रका उद्योगी व्यवसायीहरुले जर्जर र दयनीय अवस्थामा गुज्रिरहेका उद्योगी तथा व्यवसायीहरुलाई राज्यले राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । खुल्ला सिमा र भारतीय सामानसंग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा रहेका नेपाली उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको भन्सार दर न्यूनिकरणको लागि पनि आवश्यक पहल गर्न जरुरी रहेको उनीहरुको भनाई छ ।
तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले आईतबार आयोजना गरेको खाद्यान्न, निर्माण र क्रसर तथा कंक्रिट बस्तुगत समितिसँगको संयुक्त बैठकमा सहभागि उद्योगी व्यवसायीहरुले पानी तथा विद्युत महशुलमा छुटको व्यवस्था गर्नको लागि उद्योग वाणिज्य संघलाई आग्रह गरे ।
बैठकमा संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले खुल्ला सिमा र बढ्दो व्याजदरका कारण उद्योगी व्यवसायी मारमा परेको बताउनु भयो । उहाँले ३० देखि ४० प्रतिशत कर बुझाउने उद्योगी व्यवसायी प्रति राज्य उदासिन रहेको र नीजि क्षेत्रले सरकार छ भन्ने अुनुभूति सम्म गर्न नपाएको बताउनु भयो ।
संघका उद्योग उपाध्यक्ष सुरज पंगेनीले सबै उद्योगी व्यवसायीको आर्थिक अवस्था नाजुक रहेको भन्दै समस्या समाधानका लागि सबै एकजुट हुन आवश्यक रहेको बताउनु भयो । उहाँले उत्पादनमुलक उद्योगलाई राहत दिनको लागि संघले आवश्यक पहल गर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा संघका महासचिव राजकुमार पाण्डे, कोषाध्यक्ष विष्णु भण्डारी, कार्यसमिति सदस्य बसन्त गोदार क्षेत्री, खाद्यान्न समितिका सुरज खत्री, क्रसर समितिका गोविन्द भुसाल, निर्माण समितिका राजेश शर्मा लगायतले खुल्ला सिमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न अनुगमन गर्नुपर्ने, निर्माण क्षेत्रको महंगो शुल्क घटाउन पहल गर्नुपर्ने तथा क्रसर उद्योग नविकरण नभएको र स्थानीय कर महंगो भएकोले घटाउन पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।