पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेशको राजधानीको विषयलाई लिएर अब बहस नगर्न आग्रह गर्नुभएको छ । लुम्बिनी प्रदेशको बुटवलमा रहेको राजधानी दाङ सारिएपछि यस क्षेत्रका उद्योगी व्यवसायीहरुले राजधानीका कारण यहाँको आर्थिक गतिबिधिमा गिरावट आउने भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको शुक्रबार बुटवलमा भएको साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री पौडेलले अव राजधानीका विषयमा नअल्झिन आग्रह गनुएभएको हो । उहाँले राजधानी दाङ सरेपछि बुटवल सकियो, रुपन्देही सकियो भन्ने अतिरञ्जनाले आफैलाई सकाउने बताउँदै उद्योगी व्यवसायीमा अब कसरी अघि बढ्ने भनि चिन्तन गर्न आग्रह गर्नु भयो ।
उहाँले विकासका आयोजनामा जन निगरानी जरुरी रहेको बताउनु भयो । भैरहवामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकताले नै निर्माण भएको कारण सञ्चालन हुनेमा ढुक्क हुन पनि उहाँले आग्रह गर्नु भयो ।
रुपन्देहीमा सञ्चालनभएका सबै आयोजनाहरुमा जनताको निगरानी महत्वपूर्ण भएको बताउँदै उहाँले ती योजनाहरुको निर्माणमा भएका कमजोरी तथा ढिलासुस्तीमा खबरदारी गर्न आग्रह गर्नु भयो । ‘विमानस्थाल सञ्चालन होस, यो सबैको चाहना छ । ढिलो भएको छ, यो चाहिन्छ, चाहिएर बनाएको हो, यो चल्छ हामीले चलाएर देखाउँछौं ।’ पौडेलले भन्नुभयो, ‘सञ्चालनमा ल्याउन कुन–कुन निकायको कमजोरी छ त्यसलाई सुधार गरेर अघि बढौं ।
यसैगरी बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थललाई जसरी पनि सञ्चालनमा ल्याइने बताउनु भयो । सम्पन्न भएका सबै आयोजनाहरुलाई सञ्चालनमा ल्याएर यहाँको होटल व्यवसाय, पर्यटन, उद्योग तथा सम्पूर्ण आर्थिक क्षेत्रलाई चलायमान गराइले उल्लेख गर्नु भयोे ।
कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले आर्थिक संकट तथा चर्को ब्याजदरका कारण व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेको बताउनु भयो । अहिलेकै अवस्थालामो समय कायम रहे ७० प्रतिशत बढी होटल व्यवासयी विस्थापित हुने बताउनु भयो ।
संघका अध्यक्ष रामप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, होटल व्यवसायी महासंघका निर्वतमान अध्यक्ष हिराध्वज साह, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, महासचिव माधवकुमार खनाल, संघका सल्लाहकार गोपाल राना, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले पर्यटन व्यवसायका बारेमा धारणा राखेका थिए ।

त्यसै अवसरमा पत्रकार यमलाल भुसाललाई कालीदास स्मृती पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । भुसाललाई नगद १० हजार राशीसहित संघले सम्मान गरेको हो । अधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।