गएको पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारको झण्डै ४ अर्व वेरुजू देखिएको छ । विगत पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारले कुल १ खर्व ४७ अर्व ६२ करोड २९ लाख ४५ हजार रुपैंया बजेट विनियोजन गरेकामा १ खर्व ४ अर्व ७८ करोड ९७ लाख ४५ हजार रुपैंया (कुल बजेटको ७०.९८ प्रतिशत) मात्रै खर्च गरेको छ ।
त्यसमध्ये हालसम्मको अध्यावधिक वेरुजू ३ अर्व ९७ करोड ५७ लाख ४६ हजार रुपैंया रहेको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै वेरुजूको अंक क्रमशः बृद्धि हुँदै गईरहेको छ भने वेरुजू फस्र्यौटमा क्रमशः कमी हुँदै आएको पनि उल्लेख गरिएको छ ।
महालेखा परीक्षकको कार्यालयले विहिबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष महालेखा परीक्षकको प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले भ्रष्टाचारलाई रोक्न सकिएन भने वेरुजूको खाडल पनि बढ्दै जाने र जनतालाई महंगिको भार पनि बढ्दै जाने बताउनु भयो ।

सरकारबाट हुने विकासका कामहरु नियमित प्रकृयाबाट हुनु पर्ने बताउँदै सरकारले दिने अनुदानमा सञ्चालनको मापदण्ड बनाएर मात्रै अनुदान वितरण गर्नुपर्ने भनाई राख्नुभयो । वेरुजूको आँकडा प्रत्येक वर्ष बढ्दै जाने कुरा राम्रो नभएको बताउँदै नीति नियम भन्दा बाहिरबाट हुने कुराहरुलाई निरुत्सायित गर्नुपर्ने पनि उहाँको भनाई छ ।
उपमहालेखा परीक्षक बामदेव शर्मा अधिकारीका अनुसार सरकारले मातहतका सबै मन्त्रालयल र कार्यालयबाट राजश्व संकलनको प्रक्षेपण लक्ष्य निर्धारण गरिएभन्दा २६.६ प्रतिशतले कमी भएको छ । सरकारले २०७४/०७५ देखि २०७८/७९ सम्मको आन्तरिक आय कुल १५ अर्व ५५ करोड ५८ लाख ६४ हजार रुपैंया अनुमान गरेकोमा ११ अर्व ४१ करोड ८५ लाख १९ हजार रुपैंया मात्रै प्राप्त भएको छ ।

यो सरकारको लक्ष्य भन्दा २६.६ प्रतिशतले कमी हो । त्यस्तै राजश्व बाँडफाँडबाट ४३ अर्व ७३ करोड २० लाख ५० हजार रुपैंया प्राप्त हुने अनुमान गरिएको थियो । त्यसमा पनि ३७ अर्व ८५ करोड ३० लाख १७ हजार रुपैंया मात्रै प्राप्त भएको छ । यो पनि १३.४४ प्रतिशत कमी हो ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारले छोटो समयमा मन्त्रालय संख्या र मन्त्रीपरिषद सदस्यको संख्या बढाउँदै जादा कार्यालय व्यवस्थापनमा थप व्ययभार बढ्दै गएको छ भने मन्त्रालयको कार्यक्षेत्रमा दोहोरोपना तथा अस्पष्टता हुन गई सरकारको कार्यसम्पादनमा असर परेको छ । जसका कारण बजेट व्यवस्थापनमा समेत चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालको संविधानको धारा २४१ र लेखा परीक्षण ऐन, २०७५ बमोजिम संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयहरुकाृ नियमितता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको आधारमा लेखा परीक्षण हुने व्यवस्था गरिएको छ । सोही अनुसार महालेखा परीक्षकको कार्यालयले पाँचौं वार्षिक प्रतिवेदन पेश गरेको हो ।
यो वर्ष लुम्बिनी प्रदेश मातहत १८९ सरकारी निकायको ४९ अर्व ६६ करोड ३३ लाख ७२ हजार रुपैंया र समिति समेत अन्य १६ वटा संस्थाको ७ अर्व ४१ करोड ७८ लाख ९१ हजार रुपैंया गरी कुल ५७ अर्व ८ करोड १२ लाख ६३ हजार रुपैंयाको लेखा परीक्षण गरिएको उपमहालेखा परीक्षक अधिकारीले जानकारी गराउनु भयो । त्यसमध्ये १ अर्व ४९ करोड ८० लाख ८५ हजार रुपैंया जेरुजू देखिएको उहाँले बताउनु भयो ।
गत वर्षसम्म १ अर्व ७० करोड ६७ लाख ४० हजार रुपैंया वेरुजू रहेकोमा यो वर्ष १४ करोड ६६ लाख ५० हजार रुपैंया सम्परीक्षण भई १ अर्व ५६ करोड ९० हजार रुपैंया बाँकी रहेको र यो वर्ष १ अर्व ४९ करोड ८० लाख ८५ हजार थप भई जम्मा वेरुजू ३ अर्व ५ करोड ८१ लाख ७५ हजार अध्यावधिक भएको प्रतिवेदनमा उल्लेख छ ।