बेवरी ग्रीनपार्कमा वाटर फाउन्टेन उद्घाटन

1.3K

बेवरी ग्रीनपार्कमा वाटर फाउन्टेन उद्घाटन

तिलोत्तमा नगरपालिका वडा नं. १० बेवरीमा रहेको बेवरी ग्रीन पार्क संरक्षण केन्द्रमा निर्माण गरिएको वाटर फाउन्टेन उद्घाटन गरिएको छ । उक्त वाटर फाउन्टेनको शनिबार आयोजना गरिएको संस्थाको सातौं साधारण सभामा तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले उक्त पार्कको विकासको काम नगरपालिकाले गर्ने बताउनु भयो । पार्कको ग्रीनरी बढाउनको लागि आफ्नो जन्मदिनमा पार्कमा आएर कम्तीमा एउटा विरुवा रोप्न स्थानीयलाई आग्रह गर्दै नगरप्रमुख खाँणले बृक्षरोपण संस्कृतिलाई संस्कारको रुपमा विकास गर्न आग्रह गर्नुभयो । उहाँले आउने वर्ष आफ्नो जन्मदिनमा विरुवा रोपेर जन्मदिन त्यहि पार्कमा मनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उक्त पार्कमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पार्क भित्र खुला व्यायाम, पानी, विद्युतको प्रवन्ध नगरपालिकाले मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । पार्कसंगै रहेको स्वास्थ्य चौकीलाई वर्थिङ सेन्टरको रुपमा विकास गर्न नगरपालिकाले प्रकृया अगाडि बढाएको बताउँदै नगरप्रमुख खाँणले स्तरोन्नतीको काम भईरहेको मंगलापुर कान्छीबजार सडक निर्माण सम्पन्न भएपछि स्थानीयलाई सुविधासंगै अन्य प्रकारको लाभ पनि मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
तिलोत्तमा नगरपालिकालाई महिला मैत्री, लैङ्गिक समानता सहितको नगर तथा देशकै अध्ययन केन्द्रको रुपमा विकास गर्न चाहेको बताउँदै त्यसको लागि समग्र नगरवासीको साथ सहयोगको खाँचो औल्याउनु भयो ।
लुम्बिनी प्रदेश सरकारबाट प्राप्त भएको १० लाख रुपैंया र उपभोक्ता समितिको १ लाख १३ हजार रुपैयाँ गरी ११ लाख १३ हजार रुपैया लागतमा सावर मोडेलको वाटर फाउन्टेन, ट्वाईलेट र पार्कभित्र फूटपाथ निर्माण गरिएको संस्थाका अध्यक्ष दिलसिंह थापाले जानकारी गराउनु भयो । उहाँका अनुसार जग्गाको संरक्षण गर्दै स्थानीय आवश्यकता अनुसार बहुउपयोगी ग्रीन पार्क निर्माण गरिएको हो । उक्त सार्वजनिक जग्गा कब्जा हुन थालेपछि स्थानीयको सक्रियतामा २०७२ सालमा बेवरी ग्रीनपार्क संरक्षण केन्द्र स्थापना गरिएको थियो । त्यसयता पार्कको विकासको लागि समितिले काम गर्दै आएको छ । यसको विकासको लागि गुरुयोजना बनाएर सोही अनुसार दुर्गा मन्दिर, बास्केटवल, वाटर फाउन्टेन सहितका संरचना निर्माण गरिएको अध्यक्ष थापाले जानकारी गराउनु भयो ।

कार्यक्रममा संस्थाका प्रमुख संरक्षक, समाजसेवी कृष्णप्रसाद पौडेलले ग्रीनपार्कको दीगोपनाको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै नगरपालिकाको पनि प्रयाप्त सहयोगको आवश्यकता औंल्याउनु भयो । उहाँले यसलाई व्यवस्थित गर्न सकियो भने आन्तरिक पर्यटन पनि प्रवद्र्धन हुने र भईपरी आउने विपदका समयमा यसको उपयोगिता बढेर जाने भनाई राख्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष गोपालप्रसाद घिमिरे, वडा सदस्य बालकृष्ण लम्साल, पूर्व वडा सदस्य उमानन्द घिमिरे, लांघाली आमा समुहकी अध्यक्ष अनिता सारु लगायतले भनाई राख्नुभएको थियो । साधारण सभामा महासचिव हरिप्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक केशवराज गौतमले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन सर्वसम्मत पारित भएको महासचिव भट्टराईले जानकारी गराउनु भयो ।