घरभाडामा १५ प्रतिशत छुट

110

घरभाडामा १५ प्रतिशत छुट

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको संगमपथमा रहेको भवनमा व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरेको छ । संघको सोमबार बुटवलमा बसेको कार्यसमिति बैठकले करार अनुसार बृद्धि गर्नुपर्ने भाडा नबढाउने र चलनचल्तीको भाडामा १५ प्रतिशत छुट गर्ने निर्णय गरेको हो ।
गएको चैत १ गतेदेखि लागु हुनेगरी १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरिएको महासचिव बिमलराज भट्टराईले जानकारी गराउनु भयो । कोरोना महामारी लगायतका कारण व्यवसायी समस्यामा परेपछि संघले विगत तीन वर्षदेखि करार अनुसार बृद्धि गर्नुपर्ने भाडा दर समेत बृद्धि नगरी यथावत रुपमा लिँदै आएको थियो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले बैंकको व्याजदरमा भएको बृद्धि तथा अर्थतन्त्रमा आएको गिरावटको कारण व्यवसायीहरुलाई समस्या भएको र व्यापार व्यवसायलाई बचाउनको लागि लिँदै आएको घरभाडामा केही छट गरेर राहत दिनको लागि पनि घरधनीहरुलाई आग्रह गरिएको छ ।
बैठकले संघको सचिवालय भवन तथा सभाहल मर्मत सम्भारको लागि सचिव मुक्ति अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यमा कार्यसमिति सदस्यहरु नरेशकुमार श्रेष्ठ, दीपक चापागाई, काशीराम पौडेल र जमुना पौडेल रहनु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहेको संघको सचिवालय भवन तथा सभाहल प्रदेश स्थापनासंगै प्रदेश सभाको सचिवालय तथा प्रदेश सभा सञ्चालनको लागि प्रदान गरिएको थियो । प्रदेश सभा स्थायी राजधानी दाङमा स्थानान्तरण भएसंग गत चैतको २६ गते प्रदेश सभा सचिवालयले संघको भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेको थियो ।
बैठकमा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य कसजूले उद्योगी व्यवसायीका समस्या समाधानको लागि महासंघबाट पहलको थालनी भएको बताउँदै खस्किँदो अर्थतन्त्र विस्तारै सुधार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रको जल्दोबल्दो समस्याको रुपमा रहेको खुल्ला सिमानाका, बैंकको चर्को व्याजदर घटाउन, अर्थतन्त्र सुधार, जसका कारण उत्पन्न भएको घरबहाल व्यवस्थापन तथा अख्तियारले नीतिक्षेत्रमा समेत हेर्न पाउनेगरी भएको व्यवस्था सुधारको लागि संघ र महासंघबाट समेत नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैठकमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पुर्व अध्यक्षहरु अर्जुनमान सैंजू, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठले बैंक तथा वित्तिय संस्थामा भएको व्याजदर बृद्धि, खस्किँदो अर्थतन्त्र, खुला सिमानाका लगायतका कारण यस क्षेत्रका कतिपय व्यवसायहरु बन्द भईसकेको र रहेका पनि पलायन हुने स्थितीमा रहेकाले ती उद्योगी व्यवसायीलाई कसरी टिकाई रहन सकिन्छ त्यसतर्फ गम्भिर हुनुपर्ने भनाई राख्नुभएको थियो ।

बैठकमा संघले प्रकाशन गरेको नयाँ वर्ष २०८० को क्यालेण्डर विमोचन गरिएको छ । संघले अघिल्लो वर्षजस्तै भित्ते पात्रो र टेवल पात्रो (क्यालेण्डर) प्रकाशन गरिएको क्यालेण्डर प्रकाशन समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य प्रकाश श्रेष्ठले जानकारी गराउनु भयो । त्यसै अवसरमा क्यालेण्डरका विज्ञापनदातालाई सम्मान समेत गरिएको थियो ।