टंकी निर्माण गर्ने जग्गा नहुँदा खानेपानी समस्या समाधानमा कठिनाई

1.3K

टंकी निर्माण गर्ने जग्गा नहुँदा खानेपानी समस्या समाधानमा कठिनाई

बुटवल उपमहानगरपालिका वडा नं. ८ शुक्रटोल पुरकपथमा गठित सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार सम्पन्न भएको छैठौं साधारण सभा तथा चौथो अधिवेशनले पुनः लेखनाथ पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा खडानन्द खरेल, सचिवमा देवीराम पाण्डे, कोषाध्यक्षमा बालुराम गिरी र सहसचिवमा निर्मल नेपाललाई चयन गरिएको छ । त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा भविश्वर न्यौपाने, नविन श्रेष्ठ, विमला कार्की, विष्णुमायाँ गुरुङ, थानेश्वर घिमिरे र नेत्रराम पाण्डेलाई चयन गरिएको छ । लेखा समितिको संयोजकमा रामप्रसाद घिमिरे तथा सदस्यहरुमा कविता थापा र विष्णु खरेललाई चयन गरिएको हो ।
साधारण सभा तथा अधिवेशनमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले अहिले पनि बुटवलका धेरै ठाउँमा खानेपानीको समस्या रहेको र समाधानको लागि स्थानीयको अग्रसरतामा जोड दिनुभयो । बुटवलको वडा नं. ३, ४, ५, ६, ७ र ८ मा खानेपानीको समस्या रहेको बताउँदै उहाँले नगरपालिकामा साना ठूला ४४ वटा खानेपानी समिति दर्ता रहेको जानकारी गराउनु भयो । उहाँले जग्गाको अभावका कारण खानेपानी समस्या समाधान गर्न समस्या भएको बताउँदै बोरिङ गाडेपनि टंकी निर्माणको लागि जग्गा नहुँदा पानी संकलन तथा वितरणमा समस्या भएको भनाई राख्नुभयो ।
उक्त टोलका लागि संगै रहेको विद्युत सवस्टेशन भित्रको जग्गामा टंकी निर्माण गर्न सकिने भन्दै वडाबाट सिफारिस ल्याउन र विद्युत कार्यालय तथा उर्जा मन्त्रालयको स्वीकृति पाए भए मन्त्रालयबाट र नभए नगरपालिकाले बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले टंकी निर्माणको लागि जग्गाको प्रवन्ध मिलाईदिन नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुखलाई आग्रह गर्नुभयो ।
त्यस अवसरमा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लेखनाथ पौडेलले २०६८ सालमा ३० घर परिवारबाट शुरु भएको यो खानेपानी संस्थाले अहिले ८८ घर परिवारलाई पानी वितरणको प्रवन्ध मिलाएको र ५ सय घरधुरीलाई पानी उपलब्ध गराउने लक्ष्य रहेको जानकारी गराउनु भयो । त्यसको लागि टंकी निर्माण गर्न जग्गाको अभाव रहेको र जग्गाको सहज व्यवस्थापन गरिदिन नगरपालिकालाई आग्रह गर्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष बालाराम भट्टराईले संस्थाले खानेपानीबाट शुद्धता प्रमाणित गरेर खानेपानी वितरण गर्दै आएको बताउँदै अझैपनि पानीका केही क्यालसियम देखिएकाले त्यसलाई पनि सुधार गर्न आवश्यक रहेको भनाई राख्नुभयो । यो संस्थाले उहाँकै जग्गामा खानेपानीको बारिङ गाडेर पानी वितरण गरिरहेको छ ।
कार्यक्रममा संघीय खानेपानी कार्यालयका लेखा अधिकृत युवराज पौडेल, उपभोक्ता विमला कार्की, युवराज शर्मा भण्डारी लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम सचिव देवीराम पाण्डेको सञ्चालनमा भएको थियो ।

जेष्ठ नागरिकलाई सम्मान

त्यस अवसरमा संस्थाले वितरण गर्ने पानीका उपभोक्ता जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिकहरु प्रेमनाथ नेपाल, विष्णुदेवी नेपाल, हिमराज पन्थी, लोककुमारी सापकोटा र कृष्णमुरारी खनाललाई संस्थाका अध्यक्ष पौडेलले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।