बुटवलमा पार्क सम्मेलन हुँदै : कानुन निर्माणमा जोड

51

बुटवलमा पार्क सम्मेलन हुँदै : कानुन निर्माणमा जोड

सार्वजनिक स्थलमा पार्कहरु सञ्चालन भईरहेपनि ती पार्क सञ्चालन तथा व्यवस्थापनको कानुन नहुँदा समस्या भएपछि कानुन निर्माणमा जोड दिँदै बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना गरिएको छ ।
‘प्रकृति संरक्षण र सौन्दर्यता हाम्रो पहिचान, पर्यटन प्रवद्र्धन र समृद्धिका लागि प्रथम पार्क सम्मेलन’ भन्ने नारा सहित यहि जेठको ६ र ७ गते बुटवलको मणिमुकुन्द सेन उद्यान फूलवारीमा प्रथम पार्क सम्मेलन आयोजना गरिएको राष्ट्रिय पार्क सम्मेलन आयोजक समितिले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
पर्यटनको प्रचुर सम्भावना बोकेको नेपालमा पार्कहरु पर्या पर्यटनको लागि राम्रो गन्तव्य बन्दै गएको र निर्माण भएका पार्कहरुको विकास तथा व्यवस्थापनका लागि कुनै प्रकारको ऐन नियम तथा कानुन नभएका कारण सरकारलाई कानुन निर्माणमा घचघच्याउन पार्क सम्मेलन आयोजना गरिएको राष्ट्रिय पार्क सम्मेलन आयोजक समितिका संयोजक तथा मणिमुकुन्द उद्यान संरक्षण समितिका अध्यक्ष खेमप्रसाद लुईटेलले जानकारी गराउनु भयो ।
पर्यटन प्रवद्र्धन र विकास अवधारणामा विगतका वगैचा, फूलवारी, गुफा, तालतलैया, सिमसार क्षेत्र, मठमन्दिर लगायतका रमणीय स्थानहरु अहिले पार्क, उद्यान तथा वाटिकाको रुपमा विकास भएका छन् । ती पार्क तथा उद्यानलाई जैविक विविधताको संरक्षण संगसंगै सौन्दर्यता र मनोरञ्जनका अतिरिक्त आर्थिक क्षेत्रको प्राप्ती, अध्ययन अनुसन्धान स्थल, रोजगारी सिर्जना तथा आन्तरिक र बाह्य पर्यटनको प्रमुख गन्तव्य बनाउन आवश्यकता देखिएकोले त्यसलाई मध्येनजर गरेर सम्मेलन गर्न लागिएको उहाँले बताउनु भयो ।
पार्क तथा उद्यान सञ्चालन तथा व्यवस्थापनको लागि त्यहाँका समस्याको पहिचान, समाधानको उपायको खोजी गर्न र आवश्यक कानुन निर्माणलाई जोड दिएर राष्ट्रिय पार्क सम्मेलन गर्न लागिएको आयोजक समितिका सदस्य तथा शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्र (बनबाटिका) का अध्यक्ष वेलप्रसाद शर्माले बताउनु भयो ।
दुई दिनसम्म सञ्चालन हुने पार्क सम्मेलनमा कानुनविद काशीराज दाहाल र डिआर घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुहुने छ । त्यस्तै आयोजक समितिका संयोजक लईटेलले अवधारणा पत्र प्रस्तुत गर्नुहुने छ भने त्यस उपर समुहगत छलफल तथा पार्कहरुको जिल्लागत अवस्थाको बारेमा छलफल गरिने सदस्य सचिव अनन्त सिलवालले जानकारी गराउनु भयो ।
नेपालमा अहिले कतिवटा पार्कहरु छन् भन्ने यकिन तथ्यांक भने छैन । तरपनि यो सम्मेलनमा १५० पार्कबाट २५० देखि ३ सय प्रतिनीधि सहभागि हुने उहाँले जानकारी गराउनु भयो ।