प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ४ दिने औपचारिक भारत भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्न लागेको हो ।
मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत लगायत रहनु भएको छ ।
प्रधानमन्त्री प्रचण्डको टोली दिउँसो ३ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । प्रचण्डसहितका अतिथिहरुलाई भारत सरकारले होटल मौर्यमै बस्ने व्यवस्था मिलाएको छ ।
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले साँझ ६ बजे छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री प्रचण्डसँग छलफलको लागि आधा घण्टाको समय निर्धारण गरिएको छ ।
त्यस्तै भोली जेठ १८ गते विहान १० बजे प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुहुने छ । त्यसपति हैदरावाद हाउसमा फर्किनु हुने छ ।
त्यस्तै ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । त्यसपछि प्रतिनीधि मण्डल स्तरको बैठक बस्नेछ । त्यो बैठकमा पनि दुबै प्रधानमन्त्री सहभागि हुनुहुने छ । बैठक सकिएपछि संयुक्त पत्रकार सम्मेलन हुने छ । पत्रकार सम्मेलनमा प्रश्न गर्न भने पाईने छैन । त्यसपति भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्ड सहित नेपाली प्रतिनीधिमण्डल सहभागि हुनेछ ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नु हुनेछ । अपरान्ह ४ बजे उपराष्ट्रपति धनखड र साढे ४ बजे राष्ट्रपति मुर्मूसंग भेट्ने समय निर्धारण गरिएको छ ।
त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुने छ । त्यहाँ दुबै देशका व्यापारीहरुसंग अन्तरक्रिया कार्यक्रम समेत हुनेछ ।
त्यस्तै भारतका लागि नेपाली राजदुत शंकरप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागि हुनुहुने छ । उक्त समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्ने कार्यक्रम राखिएको छ ।
भारत भ्रमणको तेस्रो दिन जेठ १९ गते शुक्रबार प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर भ्रमणमा जानुहुने छ । त्यसैगरी चौथो दिन जेठ २० गते इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गर्नुहुने छ भने प्रधानमनत्री प्रचण्ड दिउँसो १ बजे नयाँ दिल्ली फर्किनुहुने छ । त्यसैदिन नेपाल एयरलाइन्सको विमानबाट अपराह्न ४ः२० मा नेपालको लागि प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ ।