नागरिकता विधेयक प्रमाणिकरण

23

नागरिकता विधेयक प्रमाणिकरण

संसदले पास गरेको नागरिकता विधेयक प्रमाणीकरण भएको छ । तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेर राखेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान प्रमाणीकरण गर्नुभएको हो ।
तत्कालिन राष्ट्रपति भण्डारीले संविधान विपरित होल्ड गरेको नागरिकता विधेयक प्रमाणीकरणको लागि सरकारले यहि जेठ १२ गते राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । सरकारको आग्रहमा संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
प्रतिनीधि सभाले २०७९ को साउनमै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालिन राष्ट्रपति भण्डारीले साउन २९ गते नै सन्देश सहित प्रतिनीधि सभामा फिर्ता पठाउनु भएको थियो ।
त्यसपछि फेरी दुबै सदनले विधेयक हुवहु पारित गरेर २०७९ भदौ २० मा तत्कालिन सभामुख अग्नीप्रसाद सापकोटाले उक्त विधेयक प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाउनु भएको थियो । संविधान अनुसार उक्त विधेयक १५ दिन भित्र प्रमाणीकरण गर्नुपर्नेमा प्रमाणीकरण नगरी तत्कालिन राष्ट्रपति भण्डारीले संविधान विपरित होल्ड गरेर राख्नु भएको थियो ।
गत फागुन २५ गते नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएपछि २०८० जेठ १७ गते उक्त नागरिकता विधेयक प्रमाणीकरण भएको हो ।