काठमाण्डौ बाहिर बुटवलमा पहिलो सूचना प्रविधि उद्योग : दश करोड लगानी

409

काठमाण्डौ बाहिर बुटवलमा पहिलो सूचना प्रविधि उद्योग : दश करोड लगानी

बुटवलमा दश करोड रुपैंया लगानीमा काठमाण्डौ उपत्यका बाहिर पहिलो सूचना प्रविधि उद्योग सञ्चालनमा आएको छ । यस क्षेत्रका युवा व्यवसायीहरुको सामुहिक लगानीमा सूचना प्रविधिसंग सम्बन्धित सबै प्रकारकारका उत्पादन तथा विक्रि वितरण गर्ने गरी टुना टेक्नोलोजी (सूचना प्रविधि उद्योग) सञ्चालनमा आएको हो ।
टुना टेक्नोलोजीले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर करिव एक वर्ष अगाडिदेखि काम सुरु गरिएको र अब पूर्ण क्षेमतामा सेवा प्रदान गर्न सकिने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा टुना टेक्नोलोजीका अध्यक्ष गणेशचन्द्र पोखरेलले व्यवसायिक संस्थाहरुलाई आवश्यक पर्ने सफ्टवेयर, वेवसाइड तथा सूचना प्रविधि सम्वन्धी सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनी स्थापना गरिएको बताउनु भयो । उहाँले यहाँको आवश्यकता पुरा गर्दै प्रदेश तथा देशमै सूचना प्रविधि सम्बन्धि सेवा विस्तार गर्ने र दक्ष युवा जनशक्तिलाई स्वदेशमै टिकाउन सन्देश दिन खोजिएको बताउनु भयो । सफ्टवेयर सुरक्षामा विशेष ध्यान दिएको बताउँदै उहाँले सफ्टवेयर र वेवसाईट निर्माणको काम अब बुटवलमै हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो–‘भविस्यमा देशका सबै प्रदेशमा बजार प्रतिनिधि तथा आधिकारीक विक्रेता मार्फत सेवा विस्तार गर्ने निती लिईएको छ ।’

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजिव गौतमले व्यक्तिगत तथा व्यवसायिक दुबै प्रकारका एकाउन्ट बनाएर सेवा दिदै आएको बताउँदै कम्पनीको मुख्य ३ वटा सफ्टवेयरहरु टुना ईआरपी, एचएमएस र साझा मेनु बजारमा लन्च भईसकेको जानकारी गराउनु भयो । उहाँका अनुसार टुनाले बजारको माग अनुसार उद्योग कलकारखाना लक्षित ई–कमर्श, होटल म्यानेजमेन्ट लक्षित एच.एम.एस. र डिजिटल मार्केटिङ अन्तर्गतको साझा मेनु बजारमा पठाईसकेको छ ।
कम्पनीका प्रमुख प्राविधिक अधिकृत सर्वोजित मिश्राले टुनाले विश्वमा नै मान्यता प्राप्त डाटा सेन्टर प्रयोग गरिरहेको र सफ्टवेय सुरक्षामा विशेष ध्यान दिईएको बताउँदै ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो । सुरक्षा सावधानीमा भने रहिरहनु पर्ने उहाँको भनाई छ । टुनामा बनेका सामाग्रीको प्लेटफर्म नै सुरक्षित भएकाले ह्याकिङ, स्क्यामको सम्भावना नरहेको भन्दै ग्राहकलाई समेत आवश्यक तालिमहरु दिदै आएको उहाँले बताउनु भयो ।
कम्पनीका सञ्चालक ध्रुव न्यौपानेले प्रमुख शहरहरुमा सम्पर्क कार्यालयहरु स्थापना गरिने र व्यवसायिक सञ्जाल विस्तार गरिने बताउँदै छिटोछरिटो सर्भिस, बजारीकरण र उत्पादन सहित तीनवटा विभाग बनाएर प्रस्तुत भएको जानकारी गराउनु भयो । उहाँका अनुसार टुनाका उत्पादनमा आउन सक्ने कुनैपनि समस्या तुरुन्तै समाधान गर्ने संयन्त्र तयार भईसकेको छ । हाल उक्त कम्पनीमा एक विदेशी सहित २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कम्पनीका प्रमुख प्राविधिक अधिकृत सर्वोजित मिश्रा भारतीय नागरिक हुनुहुन्छ ।