राष्ट्र बैंकले थाल्यो मौद्रिक नीतिको तयारी

1.3K

राष्ट्र बैंकले थाल्यो मौद्रिक नीतिको तयारी

सरकारले संसदमा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेसँगै नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको छ । मौद्रिक नीतिको लागि रायसुझाव आह्वान गर्दै नेपाल राष्ट्र बैंकले असार १० गते भित्र त्यस्ता सुझाव सल्लाह दिन आग्रह गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ–‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना राय-सुझावहरु यस बैंकको आर्थिक अनुसन्धान विभागको देहायको ठेगानामा २०८० असार १० भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’
नेपाल राष्ट्र बैंकलाई आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने अधिकार नेपाल राष्ट्र बैंक ऐनमा व्यवस्था छ । त्यस्तै वित्तीय सेवाको पहुँच अभिवृद्धि र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गर्ने जिम्मेवारी पनि छ ।
बजेटमार्फत सरकारले लिएको नीति कार्यान्वयनमा सहयोगि हुने गरी राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्नुपर्दछ । आर्थिक वर्ष सुरु भएको पहिलो हप्ताभित्र वार्षिक मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार नेपाल राष्ट्र बैंकले साउन पहिलो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्नु पर्दछ ।