लुम्बिनी विकास कोषले दानवपात संकलित अपरिवर्तित देशहरुको ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंक मार्फत सटही भएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई सहित पदाधिकारी र बोर्डको पहलमा बर्षोदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तिय मुद्रा पहिलो पटक सटही भएको हो । लुम्बिनी विकास कोष र राष्ट्र बैंकविच गत चैत २२ गते भएको सम्झौता अनुसार चैत २७ गते राष्ट्र बैंक सिद्धार्थनगर शाखालाई उक्त मुद्रा पठाइएको थियो ।
लुम्बिनी विकास कोषले मुचुल्का उठाएर श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेश सहितका देशहरुको मुद्रा सटहीका लागि राष्ट्र बैंक भैरहवा कार्यालयले सिआईएमबि बैंक सिंगापुर पठाइएको कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताउनु भयो । उहाँले लुम्बिनीमा विदेशीहरुले पवित्र भावनाले प्रदान गरेको दानरकम नसटिएर नभएर कागज बराबर भएकोमा पटक पटकको प्रयासपछि रकम सटही भएर आएको बताउनु भयो । ‘यो हाम्रो लागि खुशीको कुरा हो, नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिन्छौं’ कोषाध्यक्ष भट्टराईले भन्नुभयो ।
नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन नसकेकोमा सिंगापुर स्थित सिआईवि बैंकबाट राष्ट्र बैंकको खातामा ५४ लाख २९ हजार ७३१ रुपैयाँ प्राप्त भएको राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताउनु भयो । उहाँले केही मुद्रा पूरानो भएकाले सटही हुन नसकेको बताउँदै पठाइएका मध्ये ९० प्रतिशत मुद्रा सटही भएर आएको बताउनु भयो । उहाँले सोमबार राष्ट्र बैंकको खातामा रकम आएको र अब लुम्बिनी विकास कोषमा रकम पठाईने जानकारी गराउनु भयो । चैत २२ गते कोषका तर्फबाट कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्तिप्रसाद पाण्डे विच मुद्रा सटही गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।