गुल्मीदरवारले ल्यायो ४४ करोड ५४ लाखको बजेट : बजेटमा डाक्टर देखि मदिरा ब्राडिङ सम्म

92

गुल्मीदरवारले ल्यायो ४४ करोड ५४ लाखको बजेट : बजेटमा डाक्टर देखि मदिरा ब्राडिङ सम्म

प्रविण गाहा /

गुल्मीको गुल्मीदरवार गाउपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४४ करोड ५४ लाख ३४ हजार दुई सय रुपैयांको बजेट ल्याएको छ ।
पालिकाको १३ औं गाउंसभामा उपाध्यक्ष तारा थापा ढेंगाले बजेट प्रस्तुत गर्नुभयो । गुल्मीदरवारले चालु तर्फ ३३ करोड ६५ लाख ९६ हजार सात सय र पुंजीगत तर्फ १० करोड ८८ लाख ३७ हजार पांच सयको बजेट ल्याएको छ ।
बजेटमा एमबिबिएस डाक्टर नियुक्ती गरी विशेष सेवा प्रवाह देखि स्थानिय मदिरा ब्रान्डिङ गर्ने सम्म रहेको छ । त्यस्तै गुल्मीदरवार गाउंपालिकामा जन्मिएर राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा ख्याती कमाएकालाई सम्मान गर्ने, महिला स्वास्थ्य स्वयसेविकालाई यातायात खर्च, न्युनतम विद्युत महशुल पालिकाले भुक्तानी गरिदिने रहेको छ ।
पालिकामा निर्माणाधिन १५ शैयाको अस्पताल सञ्चालन गर्ने गरी बजेटमा संबोधन गरिएको छ । बजेटमा स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको छ । बजेटमा एमबिबिएस डाक्टर नियुक्ती गरी विशेष सेवा प्रवाह गर्ने, आंखाको मोतियाविन्दुको शल्यक्रिया गर्न चार लाख, विपन्न सुत्केरी राहत कोष, गर्भवती महिलाको नियमित परीक्षण देखि एम्बुलेन्स व्यवस्थापन गर्न १५ लाख, स्वास्थ्य चौकीमा निःशुल्क औषधी वितरण गर्न १४ लाख, उपाध्यक्ष पोषिलो कार्यक्रम पांच लाख, महिला स्वास्थ्य स्वयं सेविकालाई मासिक १५ सय यातायात खर्च उपलब्ध गराउन १५ लाख छुट्याइएको छ ।
त्यसैगरी बजेटमा शिक्षा क्षेत्रमा एक वडा एक व्यवस्थित माध्यमिक विद्यालयको अवधारणा सहित विद्यालय समायोजन गर्ने, शैक्षिक गुणस्तरवृद्धिको लागि दरवन्दी नभएका विद्यालयमा अनुदान उपलब्ध गराउने, विद्यार्थीसंग गाउपालिका कार्यक्रम, अध्यक्ष नानीबाबु प्रतिभा पहिचान कार्यक्रम, उपाध्यक्ष छात्रा प्रोत्साहन कार्यक्रम, सुत्केरी सट्टा शिक्षक व्यवस्थापन कार्यक्रम रहेको छ ।
त्यस्तै गुल्मीदरवारले स्थानीय कच्चा पदार्थ प्रयोग गरी बनाइने मदिरालाई ब्रान्डीङ गर्ने भएको छ । बजेटमा युवालाई विदेश हैन विजनेश कार्यक्रमको लागि २० लाख बिनियोजन गरेको छ । गाउंपालिका भित्र उत्पादन हुने अचार, सेनेटरी प्याड, फाइवर झोला, साबुन/सर्फ, दुनाटपरी, ढाका बुनाई उद्यमीलाई अनुदान उपलब्ध गराउने रहेको छ ।
बजेटमा एक घर एक धारा कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ । पालिकाले गाउंपालिकामा होमस्टे सञ्चालन गरी आन्तरिक र बाह्य पर्यटन गर्ने भएको छ । ४० वर्ष नाघेका अविवाहित महिला र ४५ वर्षका पुरुषलाई जीवन निर्वाहको लागि पालिकाले सम्बोधन गर्ने बजेटमा उल्लेख छ । ग वर्गका अपाङगलाई समेत समेट्ने प्रयास गरेको छ । न्युनतम विद्युत महशुल पालिकाले तिर्दै आएकोमा यो वर्षको बजेटमा समेत निरन्तरता दिदै ३० रकम बिनियोजन गरेको छ । खर र फुसको छाना विस्थापनको लागि ५ लाख छुट्टाइएको छ ।
त्यसैगरी भुमिबैक संचालन गर्ने, गुल्मीदरवार कृषि तथा पशु उद्यमशिलता परियोजना संचालनको लागि ४० लाख, किसानमा अनुदानमा कृषि औजारको लागि तीन लाख, रैथाने बाली संरक्षण कोदो, फापर, जौ, भटमासको लागि ५ लाख, पशुलाई कृत्रिम गर्भधान र खोपको लागि सात लाख ५० हजार, बंगुर किसानलाई प्रवद्धन गर्न १० लाख विनियोजन भएको छ । प्राकृतिक प्रकोप र महामारीको लागि २७ लाख विनियोजन भएको छ ।