शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका पूर्वअध्यक्ष शर्मालाई प्रहरीको सिआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो ।
मुम्बई स्थित एक विद्यायकको घरमा लेकेर बसेका शर्मालाई पक्राउ गरेर सोमबार नेपाल ल्याइएको हो । २०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । शर्माले नै मोरङमा तुलसी सहकारी संस्था पनि खोल्नु भएको थियो । संस्ता संकटमा परेपनि शर्मा वेपत्ता हुनु भएको थियो ।
संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए । अनुसन्धानको क्रममा सीआईबीले यही असार १ गते एक सूचना जारी गरी काठमाडौं र ललितपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका रकम हिनामिना भई ठगी हुन गएको भए प्रमाणसहित जाहेरी दिन आह्वान गरेको थियो । शर्मा नेतृत्वको मोरङको तुलसी सहकारीबाट भएको ठगीको पनि मोरङ प्रहरीबाट अनुसन्धान भइरहेको बुझिएको छ ।