बुटवलले सञ्चालनमा ल्यायो एआइ च्याटबट

1.3K

बुटवलले सञ्चालनमा ल्यायो एआइ च्याटबट

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ ।
बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडेर उपमहानगरपालिकाले च्याटबट सञ्चालनमा ल्याएको हो ।
बुटवल नामको च्याटबटको आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ‘नमस्कार, जन्मदर्ता गर्न के गर्नुपर्छ ?’ भन्ने प्रश्न च्याटबटसँग सोधेर शुभारम्भ गर्नुभयो ।
च्याटबट शुभारम्भ गर्दै प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाका हरेक सेवा र सूचनामा आम जनताको पहुँचलाई सहज र सरल बनाउनका लागि च्याटबट सञ्चालनमा ल्याइएको बताउनुभयो ।
उहाँले नगरप्रमुखदेखि वडाध्यक्षसम्मका जनप्रतिनिधिको जानकारी, सम्पर्क, दैनिक गतिविधि, योजना कार्यान्वयनको अवस्था, नगरमा के काम भइरहेको छ, कहिले सकिन्छ, कुन कुन काम कसरी हुन्छन् भन्ने जस्ता जानकारी र जनताका गुनासो र सम्बोधनको समन्वयको भूमिका निर्वाह गर्ने गरी च्याटबटलाई सुधार गर्दै लैजाने बताउनुभयो ।
नगर प्रमुख पाण्डेयले नगरलाई अग्रणी शहरका रुपमा स्थापित गर्नका लागि सूचना, प्रविधिको अधिकतम उपयोग गर्न नगरबासीलाई प्रेरित गर्ने र सूचना र सञ्चारको माध्यमबाट अधिकतम लाभ हासिल गर्न सकिने गरी उद्यमसँग जोड्ने गरी काम गरिरहेको बताउनुभयो ।  
कार्यक्रममा च्याटबटको उपयोगिताबारे बताउँदै युएनडीपीका प्रदेश प्रमुख सुदीप अर्यालले देशमै पहिलोपटक स्थानीय सरकारले सामाजिक सञ्जालमा आधारित च्याटबट सञ्चालनमा ल्याएको र यसले देशभर नयाँ सन्देश दिने बताउनुभयो । उहाँले सूचना र सञ्चारको उपयोगबाट सरकारी सेवालाई सहज र सरल बनाउने काममा बुटवलले अगुवाई गर्न शुरु गरेको र यसले जनतालाई लाभ पुग्ने बताउनुभयो ।
कार्यक्रममा युएनडीपी एक्लेटर ल्याबका अमन श्रेष्ठ, दियो डट एआइका विजयन भट्टराई, नामीका उदीत अर्याल, सुप्रिया ढकालले एआई च्याटबटका बारेमा प्रस्तुति गर्नुभएको थियो ।
एआई च्याटबट बुटवल उपमहानगरपालिकाको नेपाली र अंग्रेजीमा ‘बुटवल उपमहानगरपालिका’ नामको फेसबुक पेजबाट सेवाबारे जानकारी लिन सकिने बुटवल उपमहानगरपालिकाका सूचना प्रविधि शाखाका प्रमुख रोशन रेग्मीले बताउनुभयो ।
एआइ च्याटबटबाट अहिले  नागरिक बडापत्रबारेमा जानकारीमूलक विषयहरु राखिएको र आगामी दिनमा थप सेवा र सुविधाका बारेमा जानकारीहरु थप गर्दै जाने उहाँले बताउनुभयो ।