प्रधानमन्त्रीलाई ज्ञापन : श्रमिकको पारिश्रमिक सरकारी कर्मचारी सरह होस्

1.3K

प्रधानमन्त्रीलाई ज्ञापन : श्रमिकको पारिश्रमिक सरकारी कर्मचारी सरह होस्

निजी क्षेत्रमा काम गर्ने श्रमिकहरुको पारिश्रमिक सरकारी सेवामा कार्यरत कर्मचारी सरह हुनुपर्ने माग गर्दै रुपन्देहीमा कृयाशिल तीन मजदुर संगठनले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । नेपाली काँग्रेस निकटको नेपाल ट्रेड युनियन काँग्रेस, एमाले निकटको नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) र माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुफ) ले जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र पठाएका हुन् ।
‘पुजीको प्रतिफल व्याज र लगानीको प्रतिफल मुनाफा हो भने भ्रमको प्रतिफल ज्याला हो ।’ ज्ञापन पत्रमा भनिएको छ–‘त्यसैले नेपालको संविधान २०७२ को धारा ३३(१) मा रोजगारीको हक तथा धारा ३४को उपधारा (१) र (२)मा “सबै श्रमिकहरुलाई उचित श्रम अभ्यास तथा उचित पारिश्रमिक, सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने छ’’ भनेर स्पष्टसँग उल्लेख गरिएको छ । श्रम ऐन २०७४ को दफा १०७ मा हरेक दुई दुई वर्षमा श्रमिकहरूको पारिश्रमिक निर्धारण गर्नु पर्ने व्यवस्था रहेको छ । तर यो व्यवस्था अनुसार हरेक दुई वर्षमा पारिश्रमिक निर्धारण हुन सकेको छैन ।’
श्रमिकको क्रयशक्ति दिनदिनै कमजोर बन्दै गैरहेको र धान्नै नसक्ने गरी खाद्यवस्तु, शैक्षिक क्षेत्र, घर भाडा, यातायात भाडा र स्वास्थ्य सेवा लगायतमा मूल्य बृद्धि भएको उल्लेख गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक नेपाल सरकारको कार्यालयमा कार्यरत प्रथम श्रेणीका कर्मचारी सरह पुग्ने गरी बृद्धि गर्न माग गरिएको हो ।
सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकेको कारण महगो स्वास्थ्य सेवामा पहुच पुग्न नसकी उपचार खर्चको अभावमा श्रमिकहरू अकाल मृत्यु स्वीकार गर्न वा रोग पालेर बस्न बाध्य हुनु परेको औंल्याउँदै ज्ञापन पत्रमा भनिएको छ–‘यिनै तथ्यलाई मध्यनजर गर्दै हामी आग्रह गर्दछौ, दस दलीय गठबन्धन सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक नेपाल सरकारको कार्यालयमा कार्यरत प्रथम श्रेणीका कर्मचारीहरुको पारिश्रमिक सरह पुग्ने गरी बृद्धि गरोस, रोजगारदातालाई पनि आलटाल र आफ्नो गोरुको बाह्रै टक्का भन्ने प्रवृती छोडेर सहज संवादको माध्यमबाट निष्कर्षमा आउन हामी हार्दिक अपिल गर्दछौं ।’ समयमै श्रमिकहरूको पारिश्रमिक वृद्धि नगरिए देशभरका श्रमिक आन्दोलनमा उत्रिन बाध्य हुने समेत चेतावनी दिईएको छ ।