द्वन्द्व पिडित भन्छन – हामीले न्याय कहिले पाउँछौं ?

20

द्वन्द्व पिडित भन्छन – हामीले न्याय कहिले पाउँछौं ?

नेपालको सङ्क्रमणकालीन न्यायमा परिपूरण, पुनस्थापना र मेलमिलाप विषयक परामर्श बैठक बुटवलमा सम्पन्न भएको छ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका समेवेश भएका विषयमा बैठकमा छलफल गरिएको हो ।
नेपाल पुनःस्थापना न्याय मञ्चको आयोजना एवं मानव अधिकारका लागि महिला एकल महिला समूहको समन्वयमा सोमबार बुटवलमा भएको बैठकमा बोल्ने अधिकांशले सरकारले सङ्क्रमणकालीन न्यायका सन्दर्भमा पिडितलाई न्यायको अनुभूति दिलाउन नसकेको बताएका थिए । त्यस्तै कार्यक्रममा सहभागि पिडित परिवारका सदस्यहरुले पटक पटक हुने यस्ता कार्यक्रमले आफूहरुको खाँटा लागेका घाउ कोट्याउने काम मात्रै भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले संक्रमणकालिन न्यायको काम अझै टुङिगन नसकेको बताउँदै शान्ति सम्झौताका पक्षधरहरु अहिले सरकारमा रहेकाले यसले पूर्णता पाउनेमा आशा जागेको बताउनु भयो । उहाँले रुपन्देहीमा १२ जना घाइतेलाई राहत उपलब्ध गराउँदै आएको बताउँदै अभिलेख राख्ने काम र तत्कालीन शान्ति समितिले गरेका कामको बारेमा जानकारी र अपडेट रहेको बताउनु भयो । उहाँले यस्तो खालको द्वन्द्व अब कहिल्यै पनि हुन नहुने बताउँदै पिडितलाई न्यायको अनुभूति हुनेगरी संक्रमणकालिन न्यायलाई टुङ्ग्याउनु पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाल पुनःस्थापना न्याय मञ्चका संस्थापक अध्यक्ष अधिवक्ता राम तिवारीले छलफलमा उठेका कुरालाई सरकार समक्ष पु¥याउने बताउनु भयो । उहाँले अहिलेसम्म भएका प्रयास र थप्नुपर्ने कुराको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । लुम्बिनी प्रदेश सरकारका मुख्य महान्यायाधिवक्ता डा. बुद्धबहादुर थापाले लुम्बिनी प्रदेश सरकारले यससँग सम्बन्धी कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयकी कानुन अधिकृत सीता घिमिरेले सत्य निरूपणको काम पीडितले खोजेको भए पनि त्यो हुन नसकेको बताउँदै जघन्य अपराधमा पिडितलाई अझै पिडा थपिनेगरी मेलमिलापको काम हुन नहुने बताउनु भयो ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही प्रमुख मुक्तिराम सुबेदीले सरकारले गठन गरेका आयोगले कामलाई पूर्णता दिन नसक्दा पीडितहरू पिडा बोकेर बस्नु परेको बताउनु भयो ।
राष्ट्रिय मानवअधिकार आयोग बुटवलका कार्यालय प्रमुख सोमनाथ सुबेदीले आयोगले आफ्नो धारणा सार्वजनिक गरिसकेको बताउँदै मानव अधिकार र मानविय कानुनको परिधिभित्र रहेर यो विषयमा टुङ्ग्याउनु पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेल, रेडक्रस सोसाइटी रुपन्देही सदस्य एव महिला सशक्तीकरण रुपन्देही सह संयोजक हेमा बेल्बासे, अधिवक्ता इन्दिरा आचार्य, मानव अधिकारका लागि महिला एकल महिला समूह लुम्बिनी अध्यक्ष जानुका घिमिरे, सचिव रिता सेन, सञ्चारीका समूह लुम्बिनीकी अमृता अनमोल, द्वन्द्व पीडितहरू राधिका श्रेष्ठ, गोमा बस्याल, महेन्द्र भुसाल लगायतले यो विषयलाई थप बल्झाउने भन्दा पनि टुङ्ग्याउने तर्फ सबैको भूमिका हुनुपर्ने बताउनु भएको थियो ।