ढुवानी व्यवसायीलाई भ्याट सम्बन्धि प्रशिक्षण

32

ढुवानी व्यवसायीलाई भ्याट सम्बन्धि प्रशिक्षण

ढुवानी व्यवसायीलाई बुटवलमा मुल्य अभिबृद्धि कर (भ्याट) सम्बन्धि प्रशिक्षण गरिएको छ । सरकारले आर्थिक वर्ष २०८०।८१ को वजेट मार्फत ढुवानी सेवामा मुल्य अभिबृद्धि कर भ्याट लागु गर्ने घोषणा गरेसंगै अन्यौलमा रहेका ढुवानी व्यवसायीलाई त्यस सम्बन्धि जानकारी गराउनु प्रशिक्षण गरिएको हो ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिले शुक्रवार व्यवसायी भेला गरेर सरकारले ल्याएको आर्थिक ऐन अन्तरगत वार्षिक रुपमा ५० लाख भन्दा बढीको कारोवार गर्ने ढुवानी व्यवसायीलाई अनिवार्य भ्याटमा जानु पर्ने बाध्यकारी नियमको बारेमा जानकारी गराएको हो ।
भेलामा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत कमल सुवेदीले व्यवसायीले भ्याटमा जादाँ अपनाउनु पर्ने तरिका, विलविजक राख्ने तरिका, आम्दानी खर्चको वारेमा जानकारी गराउनु भएको हो । अधिकृत सुवेदीले सरकारले ढुवानी व्यवसायीलाई व्यवस्थित गराउनको लागि ल्याएको आर्थिक ऐनको निर्देशिका अझै आईनसकेकोले त्यो आएपछि मात्र आगामी दिनमा व्यवसायीलाई कसरी भ्याटमा सहजिकरण गर्न सकिने भन्ने स्पष्ट हुने बताउनु भयो ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले सरकारले ल्याएको नीतिलाई व्यवहारमा कसरी सहज रुपमा लागु गर्न सकिन्छ भन्ने वारेमा विभागसंग छलफल भैरहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका कार्यबहाक अध्यक्ष लोकराज पोखरेल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की, महासचिव हरीप्रसाद कंडेल व्यवसायी पंकज राई, जितबहादुर भाट, लगायतले व्यवसायीलाई सहज र सुलभ तरिकाले व्यवसाय संचालन गर्न पाउने व्यवस्था मिलाउन माग गर्नु भएको थियो ।