डेंगी नियन्त्रणका लागि बुटवलमा ‘खोज र नष्ट गर’ अभियान

75

डेंगी नियन्त्रणका लागि बुटवलमा ‘खोज र नष्ट गर’ अभियान

डेंगीको नियन्त्रणको लागि बुटवलमा सर्च एण्ड डिष्ट्रोएड (खोज र नष्ट गर) अभियान सञ्चालन गरिएको छ । बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि विहिबारदेखि खोज र नष्ट गर अभियान सुरु गरेको हो । यो अभियान बुटवलको वडा नं. ३ बाट सुरु गरिएको छ ।
बुटवल उपमहानगरपालिकामा बुधबार बसेको बैठकले विहिबारदेखि अभियान सञ्चालन गर्ने निर्णय गरेको र सोही अनुसार आजदेखि अभियान सुरु गरिएको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिनुभयो । अभियान अन्तरगत लामखुट्टेको बासस्थान खोजीगर्ने र नष्ट गरिने छ ।
विद्यालय, संघसंस्था, अस्पतालहरुलाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेगी नियन्त्रणको अभियानमा सहभागी गराईने छ । त्यस्तै डेंगी परीक्षण शुल्कमा एकरुपता कायम राख्न बुटवल भित्रका प्रयोगशाला सहमत भएका छन् भने निजी तथा सरकारी अस्पतालहरु पनि डेंगीका बारेमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने भएका छन् ।
रुपन्देही जिल्लामा हालसम्म ४६ जनामा डेंगीको संक्रमण भेटिएको छ । बुटवल उपमहानगरपालिकामा भने अहिलेसम्म संक्रमित भेटिएका छैनन् । डेंगीको संक्रमण हुन नदिनको लागि नगरपालिकाले नहुँदै त्यसबारेमा जनचेतना फैलाउन जनचेतनाको साथै खोज र नष्ट गर अभियान सञ्चालन गरिएको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी गराउनु भयो । तत्काल डेंगीका संक्रमितको संख्या नबढीसकेकोले सचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यकताअनुसार फिभर क्लिनिक सञ्चालन गर्नेसम्मको तयारी गरिएको उहाँले बताउनु भयो ।
त्यस्तै संक्रमितको तथ्यांक एकीकृत रुपमा संकलन गर्ने र निजी क्लिनिकमा जाँच गरेर उपचार गराउनेहरुले संख्यासमेत नगरमा उपलब्ध गराउन नगरपालिकाले निर्देशन गरेको छ । संक्रमण फैलिन नदिनको लागि नगरपालिकाले सञ्चालन गरेको अभियानमा सबैलाई साथ सहयोग गर्न नगरप्रमुख पाण्डेयले आग्रह गर्नुभयो ।