बुटवल महिला जेसीजद्वारा जेसीज सप्ताह सुरु : किशोरीलाई आत्मरक्षा तालिम

26

बुटवल महिला जेसीजद्वारा जेसीज सप्ताह सुरु : किशोरीलाई आत्मरक्षा तालिम

बुटवल महिला जेसीजको आयोजनामा बुटवलमा जेसीज सप्ताह सुरु भएको छ । सप्ताहको पहिलो दिन आईतबार किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको बुटवल महिला जेसीजकी अध्यक्ष कमला लम्सालले जानकारी गराउनु भयो ।
जेसीज सप्ताहको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले पितृसत्तात्मक सोचका कारण समाजमा धेरै समस्या भएपनि त्यसलाई चिर्दै जानुपर्ने बताउनु भयो । उहाँले पितृ सत्तात्मक सोचमा परिवर्तन ल्याउन र किशोरीहरुलाई आत्मरक्षाको लागि दर्विलो गरी उभिन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा आत्मरक्षामा अपनाईने विधिहरुको बारेमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक सन्तोष घिमिरेले प्रशिक्षण गर्नुभएको थियो । बुटवलको कान्ति माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्मका करिव सय जना किशोरीलाई तालिम प्रदान गरिएको बुटवल महिला जेसीजकी महासचिव रुपा श्रेष्ठ पाठकले जानकारी गराउनु भयो ।
जेसीज सप्ताह विभिन्न कार्यक्रम गरी भदौ २ गतेसम्म सञ्चालन हुने जेसीज सप्ताहकी संयोजक रुपा श्रेष्ठले जानकारी गराउनु भयो । उहाँका अनुसार आज सोमबार मिथ्या सूचना तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम गरिँदै छ । ३० गते मंगलबार लागू औषध दुव्र्यसन तथा आत्महत्या सम्बन्धी सचेतना, ३१ गते दाँत, मुख तथा गिजा सम्बन्धी स्वास्थ्य शिविर, ३२ गते वित्तीय साक्षरता, भदौ १ गते प्रदेश राजधानी स्थानान्तरणसँगै बुटवल क्षेत्रमा देखिएको सुस्त आर्थिक गतिविधि सम्बन्धि अन्तरक्रिया र २ गतेमा पुरस्कार वितरण तथा समापन समारोह गरिने छ ।