सकियो जेसीज सप्ताह : महिला सहभागितामा जोड

1.3K

सकियो जेसीज सप्ताह : महिला सहभागितामा जोड

बुटवल महिला जेसीजले आयोजना गरेको जेसीज सप्ताह सकिएको छ । गएको साउन २८ गतेदेखि सुरु भएको जेसीज सप्ताह विभिन्न कार्यक्रक गर्दै शनिबार सकिएको हो ।
सप्ताहको समापन कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सामाजिक काममा महिला सहभागिता बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले महिलाको सहभागितामा हुने काम पारदर्शी पनि हुने र राम्रा पनि भएका उदाहरण प्रस्तुत गर्दै राजनीतिलाई सुधार गर्नको लागि पनि महिला सहभागिता अपरिहार्य रहेको भनाई राख्नुभयो ।
सामाजिक काममा महिलाको सहभागिता बढाउनको लागि सामाजिक संघसंस्थाको विशेष योगदान हुने भन्दै त्यसमा महिलाहरुले सञ्चालन गरेका संघसंस्थाको अझैधेरै जिम्मेवारी रहेको पनि बताउनु भयो । उहाँले बुटवल महिला जेसीजले गरेको सामाजिक कामको खुलेर प्रशंसा गर्नुभयो ।
त्यस्तै नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जीवन कार्कीले जेसिजले समाज परिवर्तनका क्षेत्रमा काम गर्दै आएको बताउँदै बुटवल महिला जेसीजले सप्ताह मार्फत राम्रो काम गरेको बताउनु भयो । उहाँले जेसीजमा युवाहरूले नेतृत्व गर्दै नयाँ र सामाजिक कामहरू गर्दै जाने बताउनु भयो । त्यस अवसरमा बुटवल जेसीजकी पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारीले बुटवल महिला जेसीजले सुरुवाती समयदेखि गरेका कामको बारेमा जानकारी गराउँदै बुटवलमा महिला जेसीजको भवन बनाएर महिलाहरुले पनि गर्न सक्छन् है भन्ने उदाहरण प्रस्तुत गरेको बताउनु भयो ।
कार्यक्रममा बुटवल महिला जेसीजकी अध्यक्ष कमला लम्सालले समाज रुपान्तरणमा महिलाको पनि भूमिका हुने बताउँदै समाज रुपान्तरणको लागि महिला जेसीजले काम गर्दै आएको बताउनु भयो । अझैपनि महिलाले महिला भएकै कारण सुरक्षाको महसुस गर्न नसकिरहेको बताउँदै त्यसमा महिलालाई जागरुक गराउने खालका कार्यक्रम सप्ताहव्यापी रुपमा सञ्चालन गरिएको बताउनु भयो ।
त्यस अवसरमा बुटवल महिला जेसीजकी संस्थापक अधयक्ष रेखा कट्टेल, नेपाल जेसीज एरिया घ का तालिम आयुक्त राजन पौडेल, ग्यास बिक्रेता संघ रुपन्देही अध्यक्ष प्रदीप पन्त, बुटवल महिला जेसीजकी महासचिव महासचिव रुपा श्रेष्ठ पाठक लगायतले भनाई राख्नुभएको थियो ।
साउन २८ गतेदेखि सुरु भएको जेसीज सप्ताह अन्तरगत किशोरीलाई आत्मरक्षा तालिम, मिथ्या सूचना तथा साइबर अपराध सम्बन्धी सचेतना, लागू औषध दुव्र्यसन तथा आत्महत्या सम्बन्धी सचेतना, दाँत, मुख तथा गिजा सम्बन्धी स्वास्थ्य शिविर, वित्तीय साक्षरता, प्रदेश राजधानी स्थानान्तरणसँगै बुटवल क्षेत्रमा देखिएको सुस्त आर्थिक गतिविधि सम्बन्धि अन्तरक्रिया तथा पुरस्कार वितरण सहित सप्ताहव्यापी कार्यक्रम गरिएको जेसीज सप्ताहकी संयोजक रुपा श्रेष्ठले जानकारी गराउनु भयो ।