रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष कसजू

1.3K

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष कसजू

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उद्योगपती उज्ज्वलप्रसाद कसजूले अब विस्तारै आर्थिक गतिबिधि चलायमान बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । बैंकको व्याजदर क्रमिक रुपमा घट्न थालेको परिदृष्यले केही महिनामा बैंकको व्याजदर एकल अंकमा आउने र उद्योगी व्यवसायीलाई पनि त्यसले धेरै राहत दिन आशा व्यक्त गर्नुभयो ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको शनिबार बिहान भएको साप्ताहिक नियमित बैठकमा आफ्ना भनाई राख्दै अध्यक्ष कसजूले उद्योगी व्यवसायी कठिन मोडबाट अगाडि बढीरहेको र यस्तो परिस्थितीमा पनि राष्ट्रिय अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको निजी क्षेत्रलाई सरकारले खासै वास्ता नगरेको भनाई राख्नुभयो । मुलुकको गिर्दो अर्थतन्त्रका कारण मारमा परेका उद्योगी व्यवसायीलाई उठाउनको लागि बुटवल उद्योग वाणिज्य संघ सहित नेपाल उद्योग वाणिज्य संघले पहल तथा पैरवी गरिरहेको भनाई राख्नुभयो ।
उहाँले उद्योगी व्यवसायीलाई मोटिभेसन गर्दै उद्योग व्यवसायमा आईपर्ने उतारचढाव, त्यससमयमा अपनाउनु पर्ने संयमताका बारेमा आफ्ना अनुभवहरु सुनाउनु भएको थियो । उहाँले आफ्ना व्यवसायमा भएका कमिकमजोरीलाई आत्ममुल्यांकन गरेर सुधार गर्दै अगाडि बढ्न पनि सुझाव दिनुभयो ।

क्लवका अध्यक्ष निरज श्रेष्ठले क्लवका सदस्यहरुको मोटिभेसनको लागि सफल उद्योगी व्यवसायीलाई ल्याएर मोटिभेसन कार्यक्रम गर्दै आएको र सफल उद्योगी बुटवल उद्योग वाणिज्य संघका अध्यक्षलाई पाउँदा आफूहरुलाई धेरै खुसी मिलेको भनाई राख्नुभयो । आफूहरुले धेरै कुरा जान्ने र सिक्ने मौका पाएको पनि उहाँले बताउनु भयो । त्यस्तै आरआई डिष्ट्रिकले यहि सेप्टेम्बर २ मा रुपन्देहीमा आयोजना गरेको भाईब्रेन्ट क्लव वर्कशपमा सहभागि हुनको लागि पनि क्लवका पदाधिकारी सदस्यहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष विष्णुप्रसाद भण्डारीले सन् २०१२ सालमा स्थापना गरिएको क्लवले हालसम्म गर्दै आएका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । त्यस अवसरमा क्लवका पूर्वअध्यक्षहरु नविन श्रेष्ठ, खिमानन्द भुसाल, क्लवका उपाध्यक्ष निराजन पोखरेल, देवीराम भट्टराई, सचिव शंकर पाण्डेल लगायतले भनाई राख्नुभएको थियो ।