लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय चार दलीय समाजवादी मोर्चा घोषणाको तयारी गरिएको छ । नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र जनता समाजवादी पार्टीको समाजवादी मार्चा गठनसंगै प्रदेशमा पनि मोर्चाको नेतृत्व वाडफाड गरी घोषणाको तयारी गरिएको हो ।
त्यसको लागि आगामी मंगलबार (भदौ १२ गते) बुटवलमा सन्देश सभाको आयोजना गरिएको छ । सन्देश सभाको बारेमा जानकारी गराउन आईतबार मोर्चाले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चाका प्रदेश ईञ्चार्ज तथा नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले मुलुकको हित र विकासको लागि दलगत रुपमा समान धारणाको विकास गर्ने र अन्ततः पार्टी एकीकरण सम्म हुने सक्ने सम्भावना रहेको बताउनु भयो ।
उहाँले समाजवादी मोर्चा कसैका विरुद्ध नभई मुलुकको हित, प्रतिगमनका विरुद्ध, उपलब्धिको रक्षा, समाजवादको गन्तव्य तय गर्नको लागि गठन गरिएकोले अरु दल यसबाट तर्सिनु नपर्ने बताउनु भयो । उहाँका अनुसार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सन्देश सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित सहित मोर्चाका शिर्ष नेता आउनु हुनेछ ।
पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य बसन्त श्रेष्ठले देशको राजनितिक अबस्था फेरिएको कारण आन्दोलनका उपलब्धीमाथी प्रहार हुने सम्भावना बढ्दै गएका कारण उपलब्धिको रक्षा तथा विदेश शक्तिको चलखेल रोक्नको लागि मोर्चाको आवश्यक रहेको बताउनु भयो । बुटवल सन्देश सभा व्यवस्थापनको जिम्मा नेकपाले लिएको छ । सोही अनुसार सभाको सबै तयारी अन्तिम चरणमा पुगेको पनि उहाँले जानकारी गराउनु भयो ।