आज बुटवल जेसीजको स्थापना दिवस : पूर्वशन्ध्यामा दीप प्रज्ज्वलन, विहान प्रभातफेरी पदयात्रा, साँझ समुद्घाटन

1.3K

आज बुटवल जेसीजको स्थापना दिवस : पूर्वशन्ध्यामा दीप प्रज्ज्वलन, विहान प्रभातफेरी पदयात्रा, साँझ समुद्घाटन

बुटवल जेसीज आज ५० औं वर्षमा प्रवेश गरेको छ । सन् १९७४ सेप्टेम्बर १ मा स्थापना भएको बुटवल जेसीजले स्वर्णजयन्तीको अवसरमा साताव्यापी विशेष कार्यक्रम गरि मनाउने तयारी गरिएको अध्यक्ष हरिबिक्रम कुवँरले जानकारी गराउनु भयो ।
बुटवल जेसीज स्थापना दिवसको पूर्वशन्ध्यामा बिहिबार साँझ दीपावली गरिएको छ भने आज शुक्रबार बिहान बुटवलमा प्रभातफेरी पदयात्रा कार्यक्रम गरिएको छ । साँझ साताव्यापी कार्यक्रमको विशेष समारोहका विच उद्घाटन गरिने पनि अध्यक्ष कुवँरले बताउनु भयो । स्वर्णजयन्ती विशेष साताव्यापी कार्यक्रम अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नुहुने छ । त्यस अवसरमा बुटवल जेसीजका पूर्वअध्यक्षहरुलाई सम्मान गरिने छ ।

बिहिबार साँझ आयोजना गरिएको दीपावली कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसीजको भूमिका महत्वपूर्ण रहेको बताउँदै जेसीज अभियानमा नगरपालिकाको पनि साथ सहयोग रहने बताउनु भयो । त्यस्तै आज बिहान बुटवल जेसीजचोकबाट सुरु भएको प्रभातफेरी पददयात्रा बुटवलका विभिन्न स्थापनको परिक्रमा गरी जेसीज चोकमै पुगेर समापन गरिएको थियो ।
स्वर्णजयन्ती विशेष साताव्यापी कार्यक्रम अन्तरगत भोली शनिबार बुटवलको पर्यटन प्रवद्र्धनका लागि चित्रकला विषयक कार्यशाला अभिमुखिकरण गरिने छ । १७ गते आईतबार प्रकरण र जेसीज अभियान विषयक प्यानल डिस्कसन, १८ गते सोमबार मानवताको सेवाका लागि वृहत रक्तदान, पर्यटन प्रवद्र्धनमा आधारित बृहत खुल्ला चित्रकला प्रतियोगिता, १९ गते समुदायमा जेसीज कार्यक्रम अन्तरगत बुटवल देवीनगरमा सार्वजनिक धारा हस्तान्तरण, अन्तर उच्च मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिने छ ।

बुटवल जेसीजले ‘५० वर्षको हाम्रो स्वाभिमानः विश्वास र आस्थासंगै जेसीज अभियान’ भन्ने मुल नारा सहित आयोजित स्वर्णजयन्ती विशेष समारोह यहि भदौ २१ गते समापन गरिने छ । त्यसदिन बुटवल कालिकाचोकमा बृक्षरोपण तथा जेसीज पथ नामाकन र स्वर्ण स्तम्भ शिलान्यास गरिने छ ।
१८ देखि ४० वर्ष उमेर समुहका युवाहरुको संस्था जेसीजको छिमेकी देश भारतको गोरखुपर जेसीजको सौजन्यतामा सन् १९७४ मा स्थापित बुटवल जेसीजको संस्थापक अध्यक्षमा स्वर्गीय द्रोणराज जोशी हुनुहुन्थ्यो । स्थापना पश्चात सामाजिक उत्तरदायित्वको साथसाथै व्यक्तिगत विकासमा जेसीजले योगदान पुयाइरहेको छ । त्यस्तै बटवल जेसीजले वाग्लुङ्ग जेसीज, बुटवल महिला जेसीज, रामग्राम जेसीज, भलवारी जेसीज, सैनामेना जेसीज र देवदह जेसीज र बुद्धभुमी जेसीज शाखाको सौजन्यता गरेको थियो ।