एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन : शक्तिको परीक्षामा पौडेल र पोखरेल

99

एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन : शक्तिको परीक्षामा पौडेल र पोखरेल

नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन भोली शनिबारदेखि बुटवलमा सुरु हुँदैछ । शनिबार र आईतबार दुई दिनको लागि तय गरिएको अधिवेशनको सबै तयारी पुरा भएको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । अधिवेशनमा प्रदेशका १२ जिल्ला र जनसंगठनबाट समेत गरी १ हजार ४ जना प्रतिनीधि चयन भएर आएका छन् । प्रदेश कमिटि अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार जसमा ३० प्रतिशत महिला, दलित १५ प्रतिशत र युवाबाट २० प्रतिशत प्रतिनिधि छनोट गरिएको छ । यस अघि प्रदेश कमिटि ६०१ सदस्यीय थियो । अब भने २०५ सदस्यीय प्रदेश कमिटि चयन हुने प्रदेश इञ्चिार्ज पद्मा अर्यालले जानकारी गराउनु भयो ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश अधिवेशनको भोली शनिबार एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुहुने छ ।
पहिलो अधिवेशनबाट प्रदेशको नेतृत्वमा आउनको लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलको समुह बनाएर चुनावी प्रचार प्रसार भएको छ । प्रदेश कमिटिको अध्यक्ष पदको लागि उपाध्यक्ष विष्णु पौडेलको समुहबाट मौजुदा कमिटिका अध्यक्ष पाल्पाका राधाकृष्ण कंडेल र महासचिव शंकर पोखरेल समुहबाट केन्द्रीय सदस्य प्युठानका हरिप्रसाद रिजालले प्रचारप्रसाद गर्नुभएको छ । त्यसै अनुसार प्रतिनीधि चयनमा पनि नेताहरुको रस्साकसी भएको एमाले नेताहरु बताउँछन् ।
कँडेल र रिजालसँगै प्रदेश सचिव दाङका लक्ष्मण आचार्य पनि अध्यक्षको आकांक्षी हुनुहुन्छ । यद्यपी पार्टीमा कुनै प्रकारको गुट नरहेको प्रदेश ईञ्चार्ज अर्यालले जिकिर गर्नुभयो । उहाँले नेतृत्वको लागि ईच्छा राख्नु स्वभाविक भएको बताउँदै सकेसम्म सर्वसम्मत र सर्वसम्मत हुन नसके निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिने बताउनु भयो ।