अर्थतन्त्र विस्तारै सुध्रिदै छ : अर्थमन्त्री महत

1.3K

अर्थतन्त्र विस्तारै सुध्रिदै छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै सुध्रिदै गरेको बताउनु भएको छ । उहाँले मुलुकको अर्थतन्त्रको विषयलाई लिएर नकारात्मक कुराहरु भएरहेको बताउँदै त्यतिधेरै निराश हुनुपर्ने अवस्था नभएको पनि बताउनु भयो ।
बुटवल जेसीजको स्वर्णजयन्तीको अवसरमा शुक्रबार साँझ बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भन्नुभयो–‘मुलुकको अर्थतन्त्रमा समस्या नभएको होईन, तर सकारात्मक संकेतहरु देखिएका छन्, अव यो सुधारको गतिमा अगाडि बढ्नेछ ।’ उहाँले अहिले रेमिट्यान्स पनि राम्रोसंग आईरहेको र विदेशी सञ्चितीको अवस्था पनि राम्रो हुँदै गएको बताउनु भयो । पर्यटकको चाप पनि विस्तारै बढ्दै गरेको र आयात निर्यातमा पनि कुनै समस्या नरहेकाले अर्थतन्त्रमा पनि सुधारको संकेत देखिएको उहाँको भनाई छ ।
कोभिड–१९ को महामारीका कारण उत्पादनमा आएको गिरावटले अहिलेको यो अवस्थाको सिर्जना भएको औंल्याउँदै उहाँले राष्ट्र बैंकले ल्याएको टाईट पोलिसीलाई खुकुलो बनाउँदै लगिएको बताउनु भयो । विदेशी मुद्रा सञ्चिती न्यूनहुँदै गएपछि थप अफ्ठ्यारो आउन नदिनको लागि त्यतिबेला नेपाल राष्ट्र बैंकले टाईट पोलिसी ल्याएको बताउँदै उहाँले भन्नुभयो–‘अब त्यति धेरै कडाई गर्न आवश्यक छैन, उद्योगी व्यवसायीलाई सहज बनाउनको लागि खुला नीति लिएका छौं ।’
देशमा आईटी, पर्यटन उद्योग, कृषिमा आधारित व्यापार व्यवसायमा प्रसस्त सम्भावना रहेको बताउँदै उहाँले यी सम्भावनाका क्षेत्रमा हुने लगानीले संगैसंगै उत्पादन र रोजगारी सिर्जना गर्दा त्यसले देशको लागि पनि ठूलो योगदान गर्ने बताउनु भयो । उहाँले अब लगानीका लागि पनि सकारात्मक वातावरण बन्ने दावी गर्दै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
अमेरिकी सहयोगमा आधारित एमसिसि परियोजना कार्यान्वयन घोषणा गरिएको बताउँदै यसले पनि यस क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । यो परियोजना समयमै सम्पन्न गर्नको लागि जग्गा अधिकरणमा सहयोग गर्न स्थानीय सरकारलाई समेत आग्रह गर्नुभयो ।
विश्वकै पर्यटनको गन्तव्य लुम्बिनीमा पर्यटकको बसाई अवधि लम्ब्याउनको लागि लुम्बिनीसंग सम्बन्धि क्षेत्रलाई समेटेर बनाईने बुद्ध परिपथले पर्यटकका गन्तव्यहरु बृद्धि हुने र पर्यटकको बसाई पनि लम्बिने विश्वास व्यक्त गर्नुभयो । उहाँले लुम्बिनीसंगै यससंग जोडिएका पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका पहाडी जिल्लालाई समेत समेटेर पर्यटन प्रवद्र्धन गर्न सकिनेमा जोड दिनुभयो ।
बुटवल र समग्र रुपन्देहीले आर्थिक बिकासमा प्रशस्त सम्भावना बोकेको बताउँदै उहाँले प्रदेश राजधानी सर्दैमा यहाँको विकासमा कुनै असर नपर्ने दावी गर्नुभयो । नपरेको दाबी गरे । भैरहवामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमान स्थल पूर्ण क्षमतामा सञ्चालन आउने आश्वासन सहित बुद्ध जन्मस्थल लुम्बिनीको बिकाससँगै पर्यटकीय र आर्थिक समृद्धि हासिल गर्न सकिने उहाँको भनाई छ ।
बुटवल जेसीजका अध्यक्ष हरिबिक्रम कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, अन्तर्राष्ट्रिय जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष सन्तोष रिजाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष दिनेश कोइराला, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जगतबहादुर पोखरेल, जेसिआई फाउण्डेशन चियर प्रकाश घिमिरे, बुटवल उद्योग वाणिज्य सघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।