लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसले सल्लाहकार समिति चयन गरेको छ । गएको असार १९ गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार प्रदेश सभापति पुनले १०७ सदस्य रहेको सल्लाहकार समिति चयन गर्नुभएको हो ।
विभिन्न समयमा राष्ट्रिय राजनैतिक, सामाजिक एवं प्रशासनिक निकायमा विशिष्ट योगदान पुर्याएका तथा पेशागत विशिष्टता हासिल गर्ने वैज्ञानिक तथा विशेषज्ञहरू, पार्टीका पुराना एवम् हाल सकृय पदमा नरहेका नेताहरूलाई समावेश गरेर सल्लाहकार समिती गठन गर्नु भएको हो ।
पहिले पार्टीको मुख्य भूमिकामा रहेका तर पछिल्लो समय बाहिर रहेका नेताहरूबाट सल्लाह, सुझाव एवम् सांगठनिक अनुभव आदानप्रदानमा सहजता हुने विश्वासले समिती गठन गरिएको सभापति अमरसिंह पुनले बताउनु भयो । पार्टीमा रहेका पुराना अनुहारलाई साथमा लिनसकेमा पार्टी थप चलायमान हुने सभापति पुनको भनाइ छ ।
लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका, राज्यका विशिष्ट ओहोदाका पूर्व प्रशासकहरू र विभिन्न विषयका विज्ञहरूलाई जिल्ला तहको सिफारिसको आधारमा मनोनयन गरिएको कांग्रेस लुम्बिनीले बताएको छ । सामाजिक रुपान्तरण, स्रोत साधनको परिचालन, खोज, अनुसन्धान एवम् नीति निर्माणका क्षेत्रमा सल्लाहकारहरूलाई सक्रिय बनाइने सभापति पुनले बताउनु भयो ।


