नेपाली काँग्रेस रुपन्देहीले भन्यो – रोजगारी गरेर फर्किनेलाई भन्सारमा दुःख नदेउ

66

नेपाली काँग्रेस रुपन्देहीले भन्यो – रोजगारी गरेर फर्किनेलाई भन्सारमा दुःख नदेउ

नेपाली काँग्रेस रुपन्देहीले सिमानाकामा कडाई गरिएको बहानामा भारतबाट रोजगारी गरेर फर्किनेलाई दुःख नदिन भन्सार प्रशासनलाई आग्रह गरेको छ । काँग्रेसले चाडपर्व नजिकिँदै गर्दा भारतमा जोजगारीमा गएकाहरु फर्किने क्रम बढ्न थालेको भन्दै भन्सार प्रशासनलाई त्यसतर्फ सचेत गराएको हो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले आईतबार एक प्रेस विज्ञप्ती जारी गरी भन्सार नाकामा कडाई गरिनु राम्रो भएको र त्यसका बहानामा रोजगारी गरेर फर्किएकालाई घर आउने सहज वातावरण बनाईदिन आग्रह गर्नुभएको हो ।
‘पछिल्लो केही महिना यतादेखि नेपाल भारत सिमामा रहेको बेलहिया लगायतका भन्सार कार्यालयहरुबाट चोरी पैठारी र न्यून विजकिकरणमा अपनाइएको सावधानी र सतर्कताको कारण स्थानीय बजारको व्यापारमा आएको सुधार र राजश्वको सकारात्मक बढोत्तरीले केही आशा लाग्दो परिस्थितिको संकेत गरेको छ ।’ विज्ञप्तीमा भनिएको छ–‘व्यवसायिक प्रयोजनका लागि हुने चोरी पैठारी र निकासीले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकुल असर गर्दछ भन्ने तथ्यलाइ मनन गर्दै सरकार र सम्बन्धित निकायबाट भएका प्रयासको स्थानीय सरकार र जनस्तरबाट समेत साथ र समर्थन रहदै आएको छ ।’ वैदेशिक रोजगारीमा गएकाहरुबाट पठाएको रेमिटान्स नै अर्थतन्त्रको मेरुदण्ड र विदेशी मुद्रा आर्जनको मुख्य श्रोत बनेको बताउँदै भारत लगायतका तेश्रो मुलुकमा रोजगारीको शिलशिला गइ घर फर्कदा एक सय रुपैंया भन्दा बढिको माल बस्तु आयातको अर्थ लगाइ दुःख नदिन भन्सार प्रशासनको ध्यानाकर्षण गराएको हो ।
सिमा क्षेत्रमा बसोवास गर्ने दुवै देशका नागरिकहरुको अर्मपर्म र सरसापटी समेत हुने सामाजिक परिवेश तथा रोटी बेटीको सम्वन्धलाई समेत दृष्टिगत गर्दै कानुनको व्यवहारिक कार्यान्वयना जोड दिन पनि संघीय सरकार र सम्बन्धित पक्षमा ध्यानाकर्षण गराईएको छ ।