लुम्बिनीमा प्रदेश निजामती विधेयक पारित

1.3K

लुम्बिनीमा प्रदेश निजामती विधेयक पारित

लुम्बिनी प्रदेश सभाले निजामती कर्मचारी विधेयक पारित गरेको छ । प्रदेश सभाको २५ औं बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो । बैठकमा सरकारको तर्फबाट मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विधेयक पारित गरियोस भन्ने प्रस्ताव गर्नु भएको थियो । सभामुख तुलाराम घर्ती मगरले विधेयक पारित गरियोस भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नु भयो । ध्वनी मतका आधारमा प्रदेश सभाले सर्वसम्मत रुपमा विधेयक पारित गरेको छ । बिहिवार बसेको २४ औं बैठकमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको बिधेयक पेश गर्नु भएको थियो । प्रतिवेदन सहित तयार भएको विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवको पद संघीय निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको निमजाती कर्मचारी वा प्रदेश निजामती सेवाको तेह्रौं तहको वा सो सरहको रहने उल्लेख छ ।
सरकारले पेश गरेको विधेयकमा भने १२ औं तह सम्मको कर्मचारी प्रदेशबाट नियुक्त गर्ने प्राब्धान थियो । उपसमितिले भने १३ औं तह सम्मको कर्मचारी प्रदेशले आफै नियुक्त गर्न सक्नेगरी थप गर्न सुझाव दिएको थियो । तर, उपसमितिको ठोस सुझाव भन्दा केही फरक बिषय थपेर प्रतिवेदन पेश गरिएको पाइएको छ । प्रमुख सचिवको पदावधि तीन वर्ष र सचिवको ५ वर्षको पदावधि रहनेछ । कुनैपनि कर्मचारी कार्यालय प्रमुखको जिम्मेवारीमा गएमा हाजिर हुनुभन्दा अगाडि ट्रेड युनियनको सदस्य पदबाट राजीनामा दिनुपर्ने उल्लेख गसरएको छ । लुम्बिनी प्रदेशभित्रका कुनै नागरिकले मान्यता प्राप्त विश्वविद्यालयबाट स्वर्ण पदक प्राप्त गरेका विद्यार्थीको क्षमता उपयोग गर्न लुम्बिनी प्रदेश सरकारले दुई वर्षको करार सम्झौता गरी योजना, विकास र सार्वजनिक प्रशासन लगायतका कामका क्षेत्रमा तोकिए बमोजिम पारिश्रमिक तथा सुविधा दिएर काममा लगाउन सक्ने उल्लेख छ । प्रदेश निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताबाट पदपूर्ती हुनेमध्ये ४९ प्रतिशत पद छुट्टाएको छ ।