बुटवलमा नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनको तयारी

1.3K

बुटवलमा नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनको तयारी

नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । बुटवल जसीजको आतिथ्यतामा आगामी मंसिर २९ देखि पुस २ गतेसम्म नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्न लागिएको हो । नेपाल जेसीजको ५० औं महाधिवेशनको लागि बुटवल जेसीजले पोखरामा सम्पन्न ४८ औं महाधिवेशनमा गरेको विटमा सर्वसम्मत निर्णय भएको थियो । त्यसै अनुसार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रिय महाधिवेशनको तयारी गरिएको छ ।
बुटवल जेसीज स्वर्ण वर्षमा रहेको र नेपाल जेसीजको पनि ५० औं राष्ट्रिय महाधिवेशन भएकाले सन्दर्भ मिलाएर बुटवलमा गर्न लागिएको बुटवल जेसीजका अध्यक्ष हरिबिक्रम कुवँरले जानकारी गराउनु भयो । त्यसै अनुसार बुटवल जेसीजले महाधिवेशन तयारीका गतिबिधि अगाडि बढाएको छ ।
‘सक्षम युवा सुदृढ देश : सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारा सहित गर्न लागिएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको लागि कन्भेन्सन डाईरेक्टरको रुपमा बुटवल जेसीजले पूर्वअध्यक्ष जगतबहादुर पोखरेललाई चयन गरी तयारीका काम अगाडि बढाईएको उहाँले बताउनुभयो । पोखरेल नेपाल जेसीजको पनि पूर्व अध्यक्ष हुनुहुन्छ ।
त्यस्तैगरी शान्ति पदयात्रा, दृश्यावलोकन, सहभागि दर्ता, सांकृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम, प्रकरण, वक्तृत्व तथा प्रशिक्षण, खाना खाजा व्यवस्थापन, किट व्याग व्यवस्थापन, आवाश व्यवस्थापन, अतिथी सत्कार, उम्मेद्वार प्रशिक्षण तथा अन्तरवार्ता, उद्घाटन तथा समापन कार्यक्रम, सुरक्षा तथा सरसफाई, सूचना तथा प्रचारप्रसार, ककस तथा निर्वाचन, आर्थिक, स्मारिका प्रकाशन, स्वागतद्वार तथा हल व्यवस्थापन लगायतका १६ वटा उपसमिति गठन गरिएको प्रचारप्रसार समितिका संयोजक राजिव गौतमले जानकारी गराउनु भयो ।
बुटवलमा गर्न लागिएको नेपाल जेसीजको महाधिवेशन बुटवल जेसीजको मात्रै नभएर बुटवल र सिंगो रुपन्देही जिल्लाकै महाधिवेशनको रुपमा बुटवल जेसीजले लिएको छ । त्यस कारण पनि बुटवल जेसीजले सबैको साथ, सहयोग, समर्थन र सहकार्य गर्न चाहेको कन्भेन्सन डाईरेक्टर जगतबहादुर पोखरेल बताउनु हुन्छ ।
यो महाधिवेशनमा नेपाल जेसीजका १७८ शाखाबाट १५ सय देखि १८ सय प्रतिनीधि बुटवलमा आउने छन् । त्यसबाहेक पर्यावेच्छेक तथा अतिथि समेत गरी ३ हजार बढीको बुटवमा सहभागिता हुने उहाँले बताउनु भयो । यो राष्ट्रिय महाधिवेशनलाई सफल बनाउनको लागि साथ सहयोग र सहकार्य खोजेको बुटवल जेसीजले राजनीतिक दलका नेतासंग भेटघाट तथा छलफल गरेको छ भने सामाजिक संघसंस्थाहरु, दलका जिल्ला तहका नेताहरु र प्रदेश तथा प्रतिनीधि सभा सदस्यहरुसंग पनि भेटघाट तथा छलफलको कार्यक्रम बनाएको छ । आईबार भएको दलका नेताहरुसंगको छलफलमा जेसीजको महाधिवेशनले बुटवलको साख र गरिमालाई अझै फराकिलो बनाउने विश्वास व्यक्त गर्दै दलको तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए । छलफलमा नेपाली काँग्रेस बुटवलका कार्यवाहक सभापति ज्योती भण्डारी, एमालेका नगर अध्यक्ष किशन ज्ञवाली, माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष राजन पाण्डे सहभागि हुनु भएको थियो ।