बुटवलको पुरानो विद्यालय उजिरसिंह माध्यमिक विद्यालयको हिरक जयन्तीको शुभारम्भको अवसरमा विद्यालयमा कर्णेल उजिरसिंहको अर्धकदको शालिक अनावरण गरिएको छ ।
विद्यालयमा आयोजना गरिएको एक समारोहका बीच बुधबार पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथी यामप्रसाद ढकालले शालिक अनावरण गर्नुभएको हो । शालिक अनावरण गर्दै उपरथी थापाले ६० वर्षअघि स्थापना गरिएको विद्यालयले राष्ट्र र नेपालको स्वाभिमान जोगाउने योद्धा कर्णेल उजिरसिंहको नाम राखेर योगदानको उच्च कदर गरेको औंल्याउनु भयो ।
नेपालको हरेक युद्घमा नागरिक र सेनाको सहकार्य हुँदै आएको भन्दै उहाँले सेना र नागरिकको सहकार्यले नेपालले जित्न सफल भएको यो एउटा राम्रो उदाहरण भएको पनि बताउनु भयो । जितगढीको महत्व र उजिरसिंहको योगदानलाई प्रचारप्रसार गरी यहाँ आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गरी योजना बनाउन जरुरी रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा उजिरसिंह माध्यमिक विद्यालयका अध्यक्ष विमलबहादुर शाक्यले नेपालको रक्षा गर्न नेपाली सेनाको अतुलनीय योगदान गरेको र विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न तथा विद्यालयको पहिचान स्थापित गर्नको लागि पनि विद्यालय प्राङ्गढमा उजिरसिंहको शालिक स्थापना गरिएको बताउनु भयो । उहाँका अनुसार हिरक महोत्सवको अवसरमा उजिर संदेश–२ स्मारिका प्रकाशनको तयारी भैरहेको छ भने पुसमा सप्ताहब्यापी कार्यक्रम गरि हिरक महोत्सव मनाईने छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदमराज ज्ञवालीले नेपालको सामरिक महत्वसंग जोडिएको कर्णेल उजिरसिंह जस्ता महान ब्यक्तिको नामबाट स्थापित विद्यालयको गरिमा बढाउने गरी कार्यहरु अगाडि सारिएको बताउनु भयो । २०२० सालमा स्थापना भएको विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गर्दै दक्ष जनशक्ति उत्पादन गरेर देशलाई योगदान गरेको उहाँले बताउनु भयो ।
कार्यक्रममा पुर्व जिल्ला शिक्षा अधिकारी, विद्यालयका सल्लाहकार टेकबहादुर थापाले बुटवलबासी हुनुमा गौरवगाथाका रुपमा जितगढी किल्ला सहित धेरै धार्मिक, पर्यटकीय क्षेत्रहरु रहेको भन्दै यसको संरक्षण गर्दै प्रचारप्रसारमा जोड दिनुभयो ।
शालिक अनावरण पछि ¥याली प्रदर्शन गरिएको थियो । विद्यालय परिसरबाट शुरु भएको ¥याली पारी बुटवल, हाटबजार, जनबिनायक मन्दिर, निमचोक हुँदै पुनः विद्यालयमा पुगेर समापन गरिएको थियो । ¥यालीमा पनि उल्लेखनीय जनसहभागिता रहेको विद्यालयले जनाएको छ ।
