रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मा रहेको उत्तम साईलेज उद्योग र उन्नत एग्रो फार्मले पशुपालक किसानहरुलाई तालिम संचालन गरेको छ । नेदरल्याण्डबाट आएका पशु बिज्ञको सहयोगमा ३ दिनसम्म गोठमै पुगेर शैद्धान्तिक तथा प्रयोगात्मक तालिम संचालन गरिएको होे । गाई पालन गर्दा आउने समस्या, पशु आहार, गोबरबाट गाईको अवस्था थाहा पाउने तरिका, खुट्टाको खुरबाट आउने समस्या, खुर काट्ने तरिका र तौल मापनसँगै रोग पत्ता लगाउने तरिकाको विषयमा प्रयोगात्मक तालिम सञ्चालन गरिएको हो ।
पोम नेदरल्याण्डका पशु विशेषज्ञ ब्रेण्ड जन स्टोईलले कृषक पशुपालन ब्यवसायबाट बढि लाभ लिनको लागि हरियो घासँको प्रयोगमा जोड दिनुभयाे । कार्यक्रमको सहजिकरण समेत गर्नुभएका उहाँले गाईलाई रोग लाग्न भन्दा अघि देखाउने लक्षण र समस्या सामाधानका उपायका बारेमा शैद्धान्तिक ज्ञान प्रदान गर्नुभएकाे थियाे । गाईको गोबरको अवस्था हेरेर गाईको स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने बताउँदै उहाँले पशु आहारमा सुधार गर्न सके किसानले बढि लाभ लिन सक्ने बताउनु भयाे ।
तिलोत्तमामा विगत १० वर्षदेखि व्यवसायिक पशुपालन गर्दै आएका किसान, उत्तम साईलेज उद्योगका सञ्चालक भेषराज पाण्डेयले पशुपालन किसानलाई लाभ मिल्ने गरी अति आवश्यक पर्ने सैद्धान्तिक तथा प्रयोगात्मक तालिम संचालन गरिएको जानकारी दिनुभयाे ।
तालिमले व्यवसायिक रुपमा पशुपालन सम्बन्धि धारणामा परिबर्तन आएको बताउँदै उहाँले पशुपालन गर्दा संरचना निर्माणलाई भन्दा आहार ब्यवस्थापनलाई जोड दिँदै हरियो घासँको आहारलाई प्रोत्साहित गरिनु पर्ने बताउनु भयाे । हरियो घाँसको प्रयोगले दूध उत्पादनमा बृद्धि हुँदा किसानलाई प्रत्यक्ष रुपमा फाईदा मिल्ने उहाँकाे अनुभव छ । पराल, गहुँको भुस वा दानाको प्रयोगको सट्टा हरियो घासँलाई मिलाएर पशुको आहारा बनाउन सके दुधको उत्पादनमा बृद्धि गर्न सकिने पाण्डेयको भनाई । हरियो घासँको प्रयोगले किसानको लागतमा कमी आउने मात्र नभई गाईभैसीलाई पनि फाईदा मिल्ने उहाँलाई बिज्ञले सुझाव दिएका थिए ।
उन्नत एग्रो फार्मका संचालक रुपेश पाण्डेयले नेदरल्याण्डमा गरीने व्यवसायिक गाई पालनको अध्ययन गरेको र त्यहाँ सिकेको सीपलाई सोही अनुसार किसानलाई प्रोत्साहन गर्नको लागि तालिम संचालन गरिएको जानकारी दिनुभयाे । १५ दिनसम्म नेदल्याण्डमा गएर गाईपालनको अध्ययन गरेको र त्यहाँका पशुबिज्ञबाट कृषकलाई प्रत्यक्ष लाभ मिल्ने गरी तालिम संचालन गरीएको उहाँले बताउनु भयाे । ३ दिने कार्यशालामा आईतबार शैद्धान्तिक तथा सोमबार र मंगलबार प्रयोगात्मक तालिम संचालन गरिएकाे छ । तालिमबाट तिलोत्तमाका २० जना व्यवसायिक पशुपालक किसान लाभान्वित भएका छन् ।