‘रोजगारी, समृद्धि र सुशासन, नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी)’ भन्ने संकल्पका साथ शुरु भएको ‘मेची–महाकाली समाजवादी जागरण अभियान’ लाई रुपन्देहीमा भव्य बनाउने तयारी गरिएको छ । १० वर्षमा बेराजगार उन्मूलन गर्ने अठोट सहित विभिन्न कार्यक्रम सहित मेचीमहाकाली जागरण अभियानमा निस्केको टोलीलाई नेकपा एकीकृत समाजवादी रुपन्देहीले भव्य बनाउने गरी तयारी गरेको हो ।
असोज १४ गते मेचीबाट शुरु भएको अभियानलाई असोज २० गते साँझ रुपन्देही आइपुग्ने छ । अभियानको टोलीलाई भैरहवामा भव्य स्वागत गरिने छ ।
नेकपा एकीकृत समाजवादी रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी यहि असोज २१ गते भैरहवा र बुटवलमा अन्तरक्रिया तथा जनसभा गर्ने गर्ने कार्यबाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिनुभयाे । उहाँका अनुसार असोज २१ गते विहान ८ बजे भैरहवास्थित सिद्धार्थ उद्योग बाणिज्य संघको सभाहलमा अन्तरक्रिया आयोजना गरिएको छ । यस्तै, सोही दिन विहान ११ बजे भैरहवास्थित मिलनचोकमा जनसभा गरिनेछ । यस्तै असोज २१ गते दिउँसो ३ बजे बुटवल ट्राफिकचौकमा जनसभाको आयोजना गरिएको अध्यक्ष यादवले बताउनु भयाे ।
‘हामीले उसैदिन दिउँसो मणिग्राम र बुटवलको मिलनचोकमा मा पनि सभा गर्दैछौं’, यादवले भन्नुभयाे, ‘यसले पार्टीले अभि बढाइरहेको एजेण्डा, नीति, अबका कार्यक्रमबारे आम नागरिकलाई जानकारी हुनेछ ।’ उनका अनुसार २२ गते विहान ८ बजे बुटवल सिद्धार्थ कटेजमा अन्तक्रिया कार्यक्रम राखिएको छ । अन्तरक्रिया तथा सभालाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसालसहित केन्द्रीय नेतृत्वले सम्बोधन गर्नुहुनेछ ।
उहाँले यस अभियानमा रुपन्देही सहित देशभरका सम्पूर्ण श्रमजीवि, मजदुर, किसान, उद्योगी व्यवसायी, बुद्धिजिवी, युवा विद्यार्थी, पेशाकर्मी, पत्रकार लगायत प्रशासन र समाजका सबैलाई सहयोगका लागि अपिल गर्नुभयाे ।
‘व्यवस्था फेरियो तर किन अवस्था फेरिएन ?’ भन्ने प्रश्नको जवाफ खोज्दै, हाम्रा सन्ततीहरुको मर्यादित तथा सम्मानपूर्ण जीवन बाँच्ने अवस्थाका लागि १० बर्षमा बेरोजगारी उन्मूलन गर्ने हाम्रो कार्यक्रममा सुझाव दिन समेत अनुरोध गर्दछौं ।’ उहाँले भन्नुभयाे ।
पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव लुम्बिनी प्रदेश इन्चार्ज हरिप्रसाद पराजुलीले मूलूकबाट युवा जनशक्ति पलायन भइरहेकाले त्यसलाई रोक्नका लागि बेरोजगार उन्मूलन गर्नुपर्ने बताउनु भयाे । पूर्व कृषि मन्त्री समेत रहेका उहाँले कृषिबाटै बेरोजगार उन्मूलन गर्न सकिने बताउँदै अबको १० बर्षमा बेरोजगार उन्मूलन गरी रोजगारी, सुशासन र समृद्धि ल्याउन सकिने बताउनु भयाे।
उहाँले मुलुकमा देखिएको आर्थिक संकट, युवाहरुमा देखिएको निराशा, बेरोजगारी समस्या, आधारभूत स्वास्थ्य सेवा, २१ औं शताब्दिमा पनि जातीय छुवाछुत र भेदभाव, लैंगिक हिंसा जस्ता कुरीती अन्त्य हुन नसक्नु, असहिष्णु र घृणाको राजनीतिले समृद्धि र समाजवादको यात्रालाई अल्मलाइरहेको अवस्थामा समाजवादी जागरण अभियानले नयाँ तरंग ल्याउने विश्वास व्यक्त गर्नुभयाे ।
‘यस अभियानले अहिले देशमा देखिएको सामाजिक, राजनीतिक, आर्थिक अन्योल र अस्थिरतालाई चिर्न मद्दत गर्नेछ’, उहाँले भन्नुभयाे, ‘यसका साथै समाजवादी रुपान्तरणका लागि ठोस कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न र संविधान रक्षा गर्न योगदान पुग्ने छ ।’