संवादबाटै निकास खोजौं : अध्यक्ष पोखरेल

1.3K

संवादबाटै निकास खोजौं : अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरुलाई आग्रह गर्नुभएकाे छ । नेपाल पत्रकार महासंघ रुपन्देहीले दशैं, दीपावली, छठ र नेपाल संवत पर्वको अवसरमा आईतबार बुटवलमा आयोजना गरेको शूभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै शुद्धिकरणको बिषयलाई लिएर तालाबन्दी गरेर महासंघको गरिमा नघटाउन आग्रह गर्नुभयाे । शुद्धिकरणको बिषयलाई लिएर ठाउँ ठाउँमा प्रेस चौतारीले तालाबन्दी गरेकोतर्फ संकेत गर्दै संवाद र वार्ताबाट निकासमा जान सकिने अध्यक्ष पोख्रेलले आग्रह गर्नुभयाे ।
‘सबैको साझा संस्था बनाउने जगका रुपमा शुद्धिकरण गरिएको हो, विजयादशमीको शूभकामना दिदैं म बुटवलबाट भन्छु, तालाबन्दी निषेधले पत्रकार महासंघको ओझ घट्ने हो’ अध्यक्ष पोखरेलले भन्नुभयाे –‘संवाद गरौं, सहकार्य गरौं, विधान र शुद्धिकरण अनुसार नयाँ कोर्समा अगाडि बढौं ।’
उनले पत्रकार महासंघ संवादबाटै निकास निकाल्न तयार रहेको बताउँदै सबैको साझा छाता संगठन बनाउने हिसाबले टाउका गनेर हिसाकिताबमा मात्रै सिमित नहुन आग्रह गर्नुभयाे ।
अध्यक्ष पोखरेलले पत्रकारितामा बुटवल नै राजधानी रहेको बताउँदै त्यसका लागि पूर्वाधार निर्माण गर्ने गरी योजना बनाउन आग्रह गर्नुभयाे । उहाँले बुटवलको मोफसलमा पत्रकारिताको राजधानीका रुपमा परिचित गराउन नयाँ पुस्तालाई चिनाउने गरी योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिनुभयाे ।  ‘अरुको राजधानी जहाँसुकै होला, मोफसलमा पत्रकारिताको राजधानी बुटवल नै हो’ उहाँले भन्नुभयाे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चाडपर्वहरुमा तडकभडक र विकृतीहरु देखा परेको बताउँदै यसतर्फ सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बताउनुभयाे । उहाँले नेपाली चाडपर्वको आफ्नै खालको मौलिकता रहेको तर, विपन्न समुदायको बारेमा पनि सोच्नुपर्ने समय आएको बताउनुभयाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले चाडपर्वहरुले सबैलाई एकतामा जोड्नुपर्ने बताउनुभयाे ।