समयमा वित्तिय विवरण नबुझाउने ८९ सुचिकृत कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कारबाही गरेको छ । बोर्डको सोमबार बसेको सञ्चालक समिति बैठकले वित्तीय विवरण नबुझाउने वा ढिलो गरी बुझाएका कम्पनीलाई कारवाही गर्ने निर्णय गरेको हो । ती कम्पनीलाई बोर्डले स्पष्टीकरण सोधेको छ ।
वार्षिक वित्तीय विवरण त्रैमाससिक वित्तीय विवरण लगायतका विवरणहरु समयमा नबुझाउने कम्पनीलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । धितोपत्र बोर्डले यसअघि ११ साउनमा एक सूचना प्रकाशित गरी समयमा नै वित्तीय विवरण प्रकाशित गर्न आह्वान गर्दै अन्यथा धितोपत्र सम्बन्धी ऐनको दफा १०१ अनुसार कारवाही र जरिवनाना गर्ने चेतावानी दिएको थियो ।
बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु उक्त त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र बोर्ड समक्ष पेश गर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । उक्त अनुसूची अन्तरगत त्रैमासिक अवधिको वित्तीय विवरण व्यवस्थापकीय विश्लेषण, कानुनी कारवाही सम्बन्धी विवरण, संगठित संस्थाको सेयर कारोबार सम्बन्धी विवरण समस्या र चुनौती, संस्थागत सुशासन जस्ता विषय समावेश हुनेछ ।