यमपञ्चक सुरु : आज काग तिहार

1.3K

यमपञ्चक सुरु : आज काग तिहार

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको हो ।
यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाईएको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।
भोली आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गरिने छ ।
आइतबार बिहान अरुणोदयकालअघि नरक स्नान गरिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ । कात्तिक २७ गते सोमबार गाईपुजा परेको छ । २८ गते गोवद्र्धनपूजा र २९ गते भाईटिका परेको छ ।
कात्तिक २८ गते प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुनेछ ।

भाईटिकाको उत्तम साईत १०ः५१ मा

कात्तिक २९ गते बुधबार भाइटीकाको उत्तम साईत बिहान १०ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमा टीका लगाउनु पर्छ । सर्वसाधारणका लागि भने मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ ।