बुटवलमा पुस ५ गतेदेखि लुम्बिनी एक्स्पो-२०८० अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ पुसकाे ५ देखि १८ गतेसम्म मेला संचालन हुन लागेको हो ।
आयोजकले बुधबार मेला स्थलमा पत्रकार सम्मेलन गरेर मेलाको तयारी अन्तिम चरण पुगिसकेको जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मेला मूल आयोजक समितिका संयोजक, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले यो पटक मेला विगतको भन्दा फरक ढंगलेले संचालन गर्न लागिएकाे बताउनु भयाे । साथै मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिईएकाे संयोजक घिमिरेले बताउनु भयाे ।
एक्स्पोमा ५ सय भन्दा बढी स्टलहरु रहने र ३ सय बढी स्टल बुक भइसकेको संयोजक घिमिरेले बताउनु भयाे । मेलामा गौतमबुृद्धकाे जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवर्द्धनात्मक प्रचारप्रसार गरिने उहाँले बताउनु भयाे ।
कोरोना पछि बुटवलको व्यापार व्यवसायमा केही शिथिल भएको बेला याे मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्वपूर्ण हुने आयाेजककाे दावी छ । मेलालाई सफल बताउनका लागि ४५ सदस्यीय मूल आयोजक समिति, विभिन्न विषयका ४५ वटा उपसमिति गठन गरिएको र गठित उपसमितिले आवश्यक तयारीका काम गरिहेको प्रचारप्रसार संयोजक फर्सुराम पन्थले जानकारी गराउनु भयाे ।