बुटवलमा लुम्बिनी एक्स्पो-२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएकाे छ । रुपन्देही व्यापार संघले आयाेजना गरेकाे लुम्बिनी एक्स्पाे-२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाकाे बिहिबार एक कार्यक्रमका बिच पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले उद्घाटन गर्नु भएकाे हाे ।
एक्स्पाेकाे उद्घाटन गर्दै एमाले उपाध्यक्ष समेत रहनु भएका नेता पाैडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भैरहेको ढिलाईप्रति गम्भीर आपत्ति प्रकट गर्नुभयाे । विमानस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न नसक्ने भन्दै उहाँले सरकार पूर्णरुपमा असफल भएको बताउनु भयाे ।
बुटवल–नारायणगढ सडक निर्माणमा भैरहेको ढिलाईप्रति आक्रोश व्यक्त गर्दै उहाँले सरकारले सडक निर्माणलाई तदारुकता देखाउन पनि आग्रह गर्नु भयाे ।
पौडेलले अस्पतालको स्तरोन्नतीका लागि तत्काल टेण्डर आह्वान गर्न आग्रह गर्नुभयाे । बुटवलको ६ लेन सडक निर्माणमा भैरहेको ढिलाईले बुटवललाई गिज्याइरहेको भन्दै उहाँले सरकारमा बस्नेहरुले रमिता हेर्ने बाहेक केहीगर्न नसकेको बताउनु भयाे ।
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले सरकारमा रहेका दलहरु सत्ता टिकाउनेमा मात्र केन्द्रित रहेको बताउनु भयाे ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सफासुग्घर, हरियाली र उज्यालो बुटवल बनाउने कुरामा नगरपालिका अगाडि बढिरहेको बताउनु भयाे ।
उद्घाटन कार्यक्रममा बाेल्दै संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले मेलामा ६ सय बढी स्टल रहेकाे र मेला अवधिभर १० लाख दर्शकले अवलाेकन गर्ने र ५० कराेड बढीकाे काराेवार गर्ने लक्ष्य लिईएकाे बताउनु भयाे । उहाँले मेलालाई सफल बनाउन सहयाेग गर्न पनि सबैलाई आग्रह गर्नुभयाे । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ आयाेजना गरिएकाे मेला यहि पुसकाे १८ गतेसम्म सञ्चालन हुने छ ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष माेतिराज ज्ञवाली, नेकपा माओवादी केन्द्र रुपन्देहीका संयाेजक निर्मल जिसी, बुटवल उद्याेग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेख्रेललगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।