भोली शनिबारदेखि बुटवलमा तीनदिने सडक खाना महोत्सव हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले अंग्रेजी नयाँ वर्षको अवसर पारेर कालिका पथमा पाँचौं बुटवल सडक खाना महोत्सव आयोजना गरेको हो । खाना महोत्सवको तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।
‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारा सहित बुटवल उपमहानगरपालिका वडा नं. ९ कालिकापथ स्थित तिनकुने देखि उत्तरतर्फ नयाँ बस पार्कसम्मको सडकमा सडक खाना महोत्सव गर्न लागिएको संघका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी गराउनु भयो ।
अघिल्लो वर्षदेखि यो सडकमा रात्रीकालिन बजार समेत सञ्चालन हुँदै आएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनको लागि आयोजना गरिएको सडक खाना महोत्सवमा यश क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्ट तथा विभिन्न जातजाती र संस्कृतिका खानाका परिकारका स्टल राखिने छ ।
नेपाली खाना तथा कला संस्कृतिको संरक्षण सम्वद्धर्न गर्ने उदेश्यले आयोजना गरिएको सडक खाना महोत्सवमा रात्रीकालिन विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।
महोत्सव सम्पन्न गर्नको लागि मुल समिति तथा विषयगत २९ वटा समिति गठन गरिएको छ । उज्यालो बुटवलको रुपमा विकास हुँदै गरेको कालिका पथको सडकमा आयोजना गरिएको सडक खाना महोत्सवमा १ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र २ कराेड भन्दा बढीको कारोवार गर्ने लक्ष्य लिईएको छ । खाना महोत्सवको प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । महोत्सवको उद्घाटन अगाडि सांस्कृतिक पहिचान झल्कीने झाँकी सहितको ¥याली निकालिने संघका महासचिव अर्जुन थापाले बताउनु भयो ।