बुटवल मण्डपमा पुष ५ गते देखि सुरु भएको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेला बुधवार सकिएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रोआधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ १४ दिनसम्म सञ्चालन भएको एक्स्पोको बुधबार मेला स्थल बुटवल मण्डपमा एक विशेष कार्यक्रमकावीच समापन गरिएको हो ।
सो अवसरमा प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव नै बनेको बताउँदै आयोजना सफल बनाउन तयारी देखि समापनसम्म प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
अध्यक्ष घिमिरेले राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक डिजाइनमा ऐतिहासिक रुपमा एक्स्पो सम्पन्न भएको बताउनु भयो । एक्स्पोमा संघले राखेको दर्शक र कारोवारको लक्ष्य पुरा भएकोमा खुशी व्यक्त गर्दै उहाँले व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नु परेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन एक्स्पोले केहि सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टलहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरी र मेला मुल समितिका संयोजक कृष्ण प्रसाद घिमिरेले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गर्नुभएको थियो ।
सम्पूर्ण स्टलहरुमा प्रथम गोल्ड स्टार सुज (उपहार सुज हाउस), द्वितिय चिनारी महिला साझेदारी अल्लो उद्योग तथा तृतीय लकासी अचार उद्योग तिलोत्तमा भएको मूल्याङकन समितिका सदस्य मुकुन्द ज्ञवालीले जानकारी गराउनु भयो । त्यसैगरि स्टल सहभागी सान्त्वना पुरस्कार राडीपाखी घरमना उद्योग, शुभ लक्ष्मी हेण्डीक्राफ्ट एण्ड मोडल गार्मेन्ट उद्योग, सिओना लेडिज स्लिपर्श र बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स नेपाल) ले पाएको छ । त्यसैगरि महिला उद्यमीको तर्फबाट नेचुरल दुना टपरी उद्योग तथा उत्कृष्ट सजावट दुर्गड स्पाइसेस एण्ड फुड प्रोडक्टस प्रा.लि. पुरस्कृत भएको छ ।
समापन कार्यक्रममा नेता गिरीले बर्तमान खस्कदो आर्थिक गतिविधिलाई चलायमान बनाउँन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । उहाँले मेलाको सफलताले बुटवल आर्थिक राजधानी बन्न कसैले रोक्न नसक्ने बताउदै वर्तमान सरकार दिशाविहिन बन्दा विकासका काम अगाडी बढ्न नसकेको आरोप लगाउनु भयो ।
कार्यक्रमका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मेला सफलतापूर्वक सम्पन्न भएकोमा रुपन्देही व्यापार संघको पात्र भएको बताउदै आर्थिक गतिविधि बढाउन यस प्रकारका मेला प्रदर्शनीलाई स्थानीय सरकारहरुले सधै साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मेला मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीको स्वागत तथा महासचिव दया भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।