नवराज श्रेष्ठ /
(बुटवल–दोभान–भैरबस्थान–रिडी ऐतिहासिक व्यापारिक मार्ग)
सिद्धार्थ राजमार्ग सञ्चालन हुनु पूर्व लुम्बिनी, गण्डकी, धौलागिरी, राप्ती अञ्चलका सबै जिल्लाहरु र भेरी तथा कर्णालीका केही जिल्लाका मानिसहरु आफूहरुले वर्षदिनसम्म उत्पादन गरेका घ्यु, अदुवा, सुठो, वेसार, लगायत जडिबुटीहरु कम्तिमा १ दिनदेखि बढीमा २५ दिनको बाटो भारी बोकेर रिडी, हार्थोक, रानीठाटी, ढाक्रेबास, भैसीकट्टा (घोर्लीखरक), मस्याम, मरेक, रानीबास, दोभान हुदै पैदल बुटवल आएर विक्रि गरी आफहरुलाई वर्षदिनसम्म आवश्यक पर्ने नुन, तेल, लत्ताकपडा किनेर त्यहि बाटो फर्किन्थे ।
उत्तरदक्षिण जोड्ने सिद्धार्थ राजमार्ग निर्माण भएपछि बुटवलदेखि तानसेनसम्म ३९ किलोमिटर यातायतातको सुविधा पुर्याएको भएतापनि तानसेनदेखि भैरवस्थानसम्म थप ९ किलोमिटर गरी लगभग ४८ किलोमिटर घुमाउरो बाटोमा सहज नभएको कारणले विगतमा हाम्रा पुर्खाले पैदल हिडेको ऐतिहासिक बुटवलदेखि भैरवस्थानसम्मको मोटरबाटो निर्माणको अभियान सुरु गरिएको छ । मोटरबाटो निर्माणको लागि 3s (short, safe & save) को अवधारणा अनुसार छोटो, सुरक्षित र बचत समेत हुने भएकाले यो सडकको अवधारणा अगाडि बढाईएको हो । कतै रेखांकन त कतै ग्राभेलसम्म भएको यो बाटोलाई पूर्णता दिनसकियो भने तत्काल पाल्पाको भैरवस्थानसम्मको दुरी ४८ किलोमिटरबाट घटाएर २६ किलो मिटर हुने गत आर्थिक वर्ष २०७९।८० मा पुर्वाधार सडक विकास कार्यालय पाल्पाले पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन समेत तयार गरेको छ । मरेक र मस्यामको छोटा दुईवटा उकालो बाहेक अन्य ठाउँमा सिधा र तेर्पाए भएकोले यो बाटो सुचारु हुँदा बुटवलदेखि भैरवस्थान आधा घण्टामा पुग्न सकिन्छ ।
म बुटवल उद्योग वाणिज्य संघमा २०६३–२०६५ को कार्यकालमा अध्यक्ष भएको थिए । त्यसवेला बुटवल तथा दोभान र आसपासका क्षेत्रमा पर्यटकीय बिकासको सम्भावना अध्ययन गर्न आउजाउ गर्ने क्रममा आफू समेत आवत जावत गरेको यो पैदल बाटोलाई मोटरबाटो बनाउन सकियो भने दुरी र लागत पनि घटाउन सकिन्छ र तत्काल भैरवस्थानसम्म पर्यटकीय गतिबिधि बढाउन सकिन्छ भन्ने लाग्यो ।
यही क्रममा तत्कालिन बुटवल स्थित सडक डिभिजन कार्यलयमा कार्यरत डिभिजन इन्जिनियर मेरो भतिजा अयोध्याप्रसाद श्रेष्ठको सिफारिसमा पाल्पा सडक डिभिजनका तत्कालीन इन्जिनियर कर्णबहादुर रानाभाटज्यूले दोभान, मस्याम र भैरबस्थान सम्मको बाटोको २०६७ सालमा ७ लाख रुपैंया लागतमा म्म्ब् रिपोर्ट तयार गरी अनुमानित ७२ करोड रुपैंया लाग्ने रिपोर्ट दिनुभएको थियो । उक्त डिडिए रिपोर्ट अनुसार दोभानदेखि मस्याम, भैसीकट्टा र भारकोट हुँदै भैरवस्थानको दुरी ३२.८ किलोमिटर छ । जबकी दोभानदेखि तानसेन हुँदै भैवस्थान सम्मको दुरी ४१ किलोमिटर छ । तत्कालीन समयमा मुख्य सचिव लिलामणी पौडेलज्यूको सहयोग र समन्वय पनि प्राप्त भएको थियो । यद्यपी आर्थिक संकटको समयमा ८–९ किलोमिटर बाटो छोटो गराउनको लागि यति ठूलो लगानी उपयुक्त नदेखिएकाले लगभग १० वर्ष यत्तिकै निश्कृय भयौँ ।
पाल्पा भैरवस्थान रुपन्देही परिवारले मिति २०७९ बैशाख २२ गते लुम्बिनी प्रदेश योजना आयोगलाई पेश गरेको निवेदनको आधारमा १५ लाख रुपैंया बजेट विनियोजन भई सडक पूर्वाधार विकास कार्यालय पाल्पाले तयार गरेको डिडिए रिपोर्ट अनुसार बुटवलदेखि पाल्पाको भैवस्थानसम्म दुरी २६ किलोमिटर हुनेछ ।
२०७२ को भुकम्प पछि भुकम्प पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशिल ज्ञवालीज्युको समन्वय र सक्रियतामा सिद्धार्थ राजमार्गको पाल्पा डुम्रेबाट कुसुमखोलासम्मको बाटो निर्माण भएपछि हाम्रो मोटर बाटो निर्माण गर्ने योजना अगाडि बढाउन सहज होला जस्तो भयो । बुटवलबाट दोभानसम्म बिगत देखिनै मोटर बाटो कायमै छ । दोभानदेखि मरेकसम्म ट्रयाक खोल्नु पर्नेछ । मरेकदेखि सिस्नेखोला हुँदै मस्यामसम्म कच्चीबाटो निर्माण भएको छ । हाम्रै सक्रियतामा पूर्वाधार सडक विकास कार्यालयले मस्यामदेखि घोर्लीखरक (भैसीकट्टा)सम्म कच्चीबाटो खोलिएको छ । घोर्लीघाटदेखि ढाक्रेबास भैरवस्थानसम्म कच्ची बाटो बनेको छ । बुटवलबाट दोभानसम्म करिव ५ किलोमिटर, दोभानदेखि मरेक करिव ४ किलोमिटर, मरेकदेखि सिस्नेखोला हुँदै मस्यामसम्म करिव ५ किलोमिटर, मस्यामदेखि घोर्लीखरक करिव ३ किलोमिटर, घोर्लीखरक देखि ढाक्रेबास करिव ४ किलोमिटर (डुम्रे कुसुमखोला सडममा पर्ने) र ढाक्रेबासबाट भैवस्वस्थान (पूर्णाकोटको फेदी) करिव ५ किलोमिटर गरी करिव २६ किलोमिटर हुने पुर्वाधार सडक कार्यलय पाल्पाले गरेको पुर्वसम्भाव्यता रिपोर्टले पनि देखाएको छ । र यो सडक निर्माण गर्न करिव १ अर्व ६ करोड रुपैंया लागत अनुमान गरिएको छ । त्यस्तै तानसेन रिढी सडकमा पर्ने भैरवस्थानको पूर्णकोट डाडाँको फेदी सिलाङ्गेको रुखमा अन्डर वे पास गरी नारायणथोक, कुखुरेढाप, भुल्के हुँदै जोर्तेसम्म सोही घक् को सिद्धान्त अनुसार उक्त सडक भैरवस्थानदेखि भुल्केहुँदै जोर्ते अन्दाजी ५.५ किलोमिटर र जोर्ते रिडी करिव १४.५ गरी २० किलोमिटर हुनेहुँदा बुटवलदेखि रिडी १ घण्टामा पुग्न सकिने सम्भावना छ ।
निर्माण अन्तिम चरणमा रहेको कालीगण्डकी कोरिडोर अन्तर्गत बागलुङ रिडी बाटोको लम्बाइ ७५ किमी छ । बाटो पनि राम्रो भएकोले बागलुङदेखि रिडी डेड दुइ घण्टामा पुगिने हुदा बागलुङ, पर्बत, म्याग्दी जिल्लाहरुबाट बुटवल हाल पोखरा स्याङ्जा भै आवतजावत गर्दा करीब ८–१० घण्टा लाग्नेमा ढाइ तीन घण्टामै आवतजावत हुन सक्दछ । यो बाटो चीनको कोरोला नाकादेखि बेलहिया नाकासम्म सरल, सहज र सबै भन्दा छोटो दुई अन्तर्राष्ट्रिय नाका जोडने बाटो हुनसक्छ । यस क्षेत्रका केही यातायात व्यवासयीका संस्थाहरुको गतिबिधिको कारणले बागलुङ, पर्बत, म्याग्दी, कास्की स्याङ्जालगायतका साविक गण्डकी अञ्चलका जिल्लाका व्यवसायीहरु बुटवल भैरहवा बजारको साटो नारायणगढ (अधिकतम ५ घण्टा) र विरगञ्ज (अधिकतम ८ घण्टा) लाई आफ्नो व्यापारिक व्यवसायिक गन्तव्यस्थल बनाउन थाले । यसप्रकार कालिगण्डकी कोरिडोर तथा रिडीबाट बुटवलसम्म व्यापारिक मार्ग निर्माण भएमा अधिकतम ३ देखि ४ घण्टामा आवतजावत गर्न गकिन्छ । अहिले परिकल्पना गरिएको व्यापारिक मार्ग निर्माण हुँदा यसमा दुरी कम हुने र यात्राको समय पनि कम लाग्ने, ढुवानी लागत पनि घट्ने हुनाले पूर्ववत यस क्षेत्रको बजारलाई विस्तार गर्न सकिन्छ ।
कोरोला नाका पूर्ण रुपले व्यवस्थित हुने र कोरोला नाकासम्म मोटरेवल बाटो निर्माण भएमा तिब्बती र चिनीया बौद्ध धर्मावलम्बीहरु भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसम्म सोही मार्ग भई आवतजावत गर्ने ठूलो सम्भावना रहन्छ । यसबाट पर्यटन विकासको साथसाथै पर्यटन सेवा, यातायात सेवा, स्थानीय उत्पादनको बजारीकरण एवं अन्य व्यवसायिक गतिबिधि अगाडि बढाउन सकिन्छ । जसको कारणले लगानीको अवसरको साथसाथै ठूलो संख्यामा रोजगारीको अवसर समेत सिर्जना गर्दछ ।
नेपाल भौगोलिक विविधताको कारणले तराई, पहाड र हिमाली क्षेत्रमा विभाजित मुलुक हो । सोही अनुसार उचाईको आधारमा हावा पानीमा पनि विविधता हुने हुनाले कृषि एवं विभिन्न प्रकारका जडिबुटी उत्पादनहरुको बजारीकरण पनि हुने ठूलो सम्भावना रहन्छ । जस्तै हिमाली क्षेत्र मुस्ताङ्गे स्याउ, ओखर लगायतका अन्य जडिबुटीहरु पहाड र तराईका जिल्ला तथा भारतमा समेत निकासीको सम्भावना रहन्छ भने तराईमा तथा भारतमा समेत उत्पादन भएका खाद्यान्न तथा औद्योगिक उत्पादन हिमाली तथा चिनमा पनि निकासी गर्न सक्ने सम्भावना बढी छ । त्यस्तैप्रकारले कारोला नाका भई आयात हुने सस्तो तथा आकर्षक चाईनिज उत्पादनको बुटवल एउटा ठूलो व्यापारिक बजार बन्न सक्छ ।
नेपालमा यातायात क्षेत्रको विकासको क्रममा रिडीबाट बुर्तिबाङ्ग सम्म ७२.५ किमी पक्की बाटो निर्माण भईसकेको र सो बाटो १.५ घण्टामै आवत जावत गर्न सकिने छ । यस्तै बुर्तिबाङबाट करिव २.५ घण्टा, पश्चिमतिरका पुर्बी रुकुमबाट करिव ३ घण्टा, रोल्पाबाट करिव ३ं.५ घण्टा, पश्चिम रुकुमबाट करिव ४ घण्टा, सल्यानबाट करिव ४ घण्टा, जाजरकोटबाट करिव ५ घण्टा र डोल्पाबाट करिव ८ घण्टामा बुटवल आवतजावत गर्न सकिने हुनाले पूर्ववत घ्यू, सोठी, लगायतका जडिबुटी भारी बोकी ल्याई विक्रि गरी वर्षदिनलाई पुग्ने नुन, तेल, किराना–विसाता, लत्ताकपडा, धातु एवं औषधिजन्य बस्तुहरु खरिद गरी भारी बोकी लैजाने पुरानो परम्परालाई अब यो सडकको माध्यमबाट यातायातका साधनले नै ढुवानी गर्ने भएको हुनाले यस क्षेत्रका बजारको पुनराबृत्ति भई व्यवसायिक चहलपहल अत्यधिक मात्रामा बढ्ने छ । मध्ये पहाडी तथा हिमाली जिल्लामा उत्पादन हुने विभिन्न कृषि उपज, जडिबुटी तथा खानीजन्य बस्तुहरु र परम्परागत राडिपाखी, खसीबोका, च्याङग्रा लगायत उपभोग्य एवं औद्योगिक कच्चा पदार्थको रुपमा तराई र भारतेली बजारमा समेत निर्यात गर्न सकिन्छ ।
हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र धाम मुस्ताङ्को मुक्तिनाथ मन्दिरसम्म यहि मार्ग पयोग गरी तराई तथा भारतेली हजारौं धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । पहाडि जिल्लामा शाहसिक पर्यटन (बन्जिजम्प लगायत) को पनि थालनी भएको छ । यो वाटोको निर्माणले यसलाई अझै व्यापक बनाउन सकिन्छ । एवं पाल्पाको भैरवस्थान, रुरु क्षेत्र, गुल्मीको रेसुङ्गा, रुकुमको पुथा हिमाल, रहस्यमय कमलताल, स्यार्पुताल, तकसेरा गाउँ, बागलुङ्को ढोरपाटन आरक्षण शिकार क्षेत्र, डोल्पाको से–फोक्सुण्डो ताल लगायतका पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पनि यो बाटो माध्यम हुनेछ । पर्यटकीय चहलपहल बढेपछि ती क्षेत्रमा समेत पर्यटन उद्योग स्थापना हुने र फस्टाउन सक्नेछन् । यसले त्यस क्षेत्रको समेत आर्थिक चलायमान बढाउन मद्धत गर्नेछ ।
कोरोना महामारी, रुस–युक्रेन युद्ध र नगद प्रवाहको कमीले यस क्षेत्रको व्यापार व्यवसाय अत्यधिक गिरावट भई व्यवसायी पलायन भईरहेको अवस्थामा बुटवलका अनेक व्यापारिक सटरहरु खाली रहेकोमा यो बाटो निर्माणले मूर्त रुप लिएमा बुटवल लगायत यस क्षेत्रको व्यापक रुपमा चहलपहल बढाउने छ ।
यसले रुपन्देही, परासी र कपिलवस्तु जिल्लाका स्वदेशी आन्तरिक व्यापार निकै फस्टाउने छ । त्यसका साथै पैदलमार्ग भएर आउने पर्यटकलाई लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा समेत गन्तव्य तय गर्न सहज हुनेछ । यो बाटो निर्माण भएमा नेपालको मध्यभुमीमा रहेको बाटोले जोडिने स्थानहरुको विकासले कायापलट हुनेछ । स्थलमार्ग भएर सबैभन्दा बढी पर्यटक वेलहिया नाकाबाट भित्रिने भएकाले यस क्षेत्रको पर्यटन विकासमा पनि यो सडकले उल्लेखनीय भूमिका निर्वाह गर्नेछ ।
यो ऐतिहासिक बाटो निर्माणार्थ दुबै संस्थाका अध्यक्ष सल्लाहकार रहने गरी मेरो संयोजकत्वमा पाल्पा भैरवस्थान रुपन्देही परिवार र बुटवल उद्योग वाणिज्य संघको संयुक्त ८ सदस्यीय समिति गठन गरिएको छ । यस कारण पनि यहाँका सबै व्यवसायिक संघसंस्था, स्थानीय सरकार, सम्बन्धित जिल्लाका राजनीतिकर्मी, जनप्रतिनीधि तथा लुम्बिनी प्रदेश सरकार र नेपाल सरकारले समेत गम्भिर भएर लाग्न आह्वान गर्दछौं ।
(बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उद्योगी श्रेष्ठ उक्त सडक निर्माण समितिका संयोजक हुनुहुन्छ ।)