व्यापार संघमा नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण

1.3K

व्यापार संघमा नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण

रुपन्देही व्यापार संघमा नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । संघको २२ औं साधारणसभा तथा १२ औं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई बुधबार एक कार्यक्रमकावीच शपथ ग्रहण सहित पदभार हस्तान्तरण गरिएको हो । कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत लेखनाथ ढकालले शपथ गराउनु भयो ।
कार्यक्रममा प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभयो । त्यस्तै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले टिका तथा अध्यक्ष कृष्णप्रसाद घिमिरेले खादा लगाइदिनु भएको थियो ।
कार्यक्रममा सांसद बासुदेव घिमिरेले रुपन्देहीको आर्थिक तथा औद्योगिक विकाससंगै समग्र परिर्वतनका लागि एकिकृत विकास परियोजना अगाडी बढाउनु पर्ने बताउनु भयो । उहाँले यस क्षेत्रको विकासका लागि यस क्षेत्रका जनप्रतिनिधिहरुले सामुहिक पहल गर्दै आएको भएपनि सबैको चाहाना अनुसारको काम हुन नसकेको बताउनु भयो ।
त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले स्थानीय सरकार व्यवसायीहरुको साथमा रहेको बताउँदै व्यवसायिक समस्यालाई सामुहिक रुपमा समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघको नेतृत्व चयनका क्रममा भएका गतिविधिले संस्थालाई मजबुत बनाउन नै मद्दत गरेको बताउदै संघको हित विपरित कुनै गतिविधि हनु नदिन सबै लाग्नु पर्ने भनाई राख्नुभयो ।
संघका निर्वतमान अध्यक्ष कृष्णप्रसाद घिमिरेले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै प्रजातान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन भएको हुदा संस्थाको गरिमा र प्रतिष्ठामा आच नआउने गरि काम गर्न आग्रह गर्नुभयो । त्यस्तै नवनिर्वाचित अध्यक्ष दिपकप्रसाद अधिकारीले आफू मन, वचन र कर्मले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै संघको गरिमालाई उचाईमा पु¥याउन सबैलाई सहमति र सहकार्यमा जोड दिनुभयो ।
निर्वाचनका दौरानमा पक्ष र विपक्ष भएको भएपनि आगामी दिनमा त्यसलाई विर्सेर संस्था र व्यवसायीहरुलाई सर्वोपरि ठानी सबै एक ढिक्का भएर अगाडि बढ्न आफू प्रतिवद्ध रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष पदमप्रसाद श्रेष्ठ, उद्योग व्यापार संगठनका अध्यक्ष विष्णु पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, महासचिव दयानिधि भण्डारी, नवनिर्वाचित महासचिव फर्सुराम पन्त, संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल लगायतले भनाइ राख्नुभएको थियो ।