तिलोत्तमा जेसीजमा निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । शुक्रबार तिलोत्तमामा आयोजना गरिएको कार्यक्रममा तिलोत्तमा जेसीज वर्ष २०२३ का अध्यक्ष प्रकाश गौतम नेतृत्वको कार्यसमितिले वर्ष २०२४ को लागि निर्वाचित महेश शर्मा पौडेल नेतृत्वको कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले समाज रुपान्तरणमा युवाहरुको भूमिका अहम रहने भनाई राख्नुभयो । त्यसका लागि युवाहरुको संस्था जेसीजले नेतृत्व लिन उहाँले आग्रह गर्नुभयो ।
विधिको शासनको वकालत गर्ने जेसीजले विधिको शासनसंगै युवा उद्यमशिलतालाई पनि संगसंगै लैजान आग्रह गर्नुभयो । उहाँले समाजमा सामाजिक विकासका काम धेरै बाँकी रहेको बताउँदै सामाजिक रुपान्तरणमा पनि काम गर्न आग्रह गर्नुभयो ।
तिलोत्तमा जेसीजको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष शर्माले युवामा नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक सेवाका कामलाई प्राथमिकता दिएको जानकारी गराउनु भयो । उहाँले अघिल्लो कार्यसमितिले थालनी गरेका योजनाहरुलाई निरन्तरता दिईने र त्यसमा समेत साथ सहयोग गर्न क्लवका सदस्य तथा पूर्व पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिलबहादुर भट्टराई, ३ का अध्यक्ष कल्याण पौडेल, ७ का अध्यक्ष देवीलाल पंगेनी, ८ का अध्यक्ष कृष्ण पौडेल, ९ का अध्यक्ष ध्रुव न्यौपाने, समाजसेवी शरद भट्टराई, नेपाल जेसीजका निरुपित कार्यकारणी उपाध्यक्ष सन्दिप अग्रहरी, निरुपित उपाध्यक्ष गणेश सापकोटा, नेपाल चिकित्सक संघका लुम्विनी प्रदेश अध्यक्ष डा. कृष्ण खरेल, तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष विनोद ढकाल, पुर्व अध्यक्ष विनोद सुबेदी, निशानबाबु कार्की, जिवन गौतम, ईश्वर पाण्डे, लोकप्रसाद भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
तिलोत्तमा जेसीज वर्ष २०२३ का अध्यक्ष प्रकाश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक सुलभ वञ्जाडेले स्वागत तथा पूर्वअध्यक्ष बासुदेव शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।