ओभरलोड नियन्त्रण गर्नको लागि पल्टी गर्न मिल्ने र नमिल्ने बस्तुको एकिन गर्न भन्सार कार्यालयलाई प्रशासनले निर्देशन गरेको छ । रुपन्देहीको वेलहिया हुँदै नेपाल प्रवेश गर्न भारतीय गाडिलाई छुट दिँदा नेपाली ट्रक व्यवसायीलाई मार परेको भन्दै ट्रक व्यवसायीले ओभरलोड नियन्त्रण गर्न प्रशासनलाई आग्रह गरेका थिए ।
त्यस क्रममा रुपन्देही प्रशासन सहित नेपाल ट्रक व्यवसायी महासंघ अन्तरगत लुम्बिनी प्रदेशका ट्रक व्यवसायी, वेलहिया भन्सार र रुपन्देही प्रहरी सहितको छलफल भएको थियो । छलफलमा ओभरलोड नियन्त्रण गर्न प्रशासन सहमत हुँदै पल्टी गर्न मिल्ने र नमिल्ने बस्तुको एकिन गर्न भन्सारलाई निर्देशन गरेको हो ।
छलफलका क्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भन्सार नियन्त्रणको लागि भन्सार विन्दुमा आएका मालवाहक ट्रकलाई पल्टी गर्न मिल्ने र नमिल्ने सामानको विवरण बुझाउनु भन्सार प्रशासनलाई निर्देशन गर्नुभयो ।
मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुनअनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । सोही व्यवस्था अुनसार उहाँले भन्सारलाई निर्देशन गर्नुभएको हो ।
नेपाल ट्रक यातायात ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल र पश्चिमाञ्चल यातायात ब्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले भारतबाट आउने मालवाहक ट्रकहरु ओभरलोड भएपनि नेपाली प्रशासनले सामान्य जरिवाना बाहेक अन्य कारवाही गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
भारतीय गाडीले ल्याएको ओभरलोडलाई पल्टी गर्न भनी पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनी ट्रक व्यवसायी संघले बेलहिया नजिकै १४ कठ्ठा जग्गा भाडामा लिएका छन् ।
ट्रकहरुलाई पार्क गरि त्यहिबाट माल पल्टी गर्ने उद्देश्य सहित जग्गा भाडामा लिए पनि प्रशासनको सहयोग नपाउदा नेपाली ट्रकहरुले काम नै नपाएको लुम्बिनी ट्रक यातायात व्यवसायी समितिका अध्यक्ष बिष्णुप्रसाद खरेलले गुनासो गर्नुभयो ।
निर्देशिकाको बुंदानम्बर १० मा पनि तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनले प्रचलित कानून अनुसारको जरिवाना गर्नुको साथै बढी भएको समान झारी सवारी धनिले नै त्यस्तो समानको भण्डारणको ब्यवस्था मिलाउनु पर्ने” भनि उल्लेख गरेको कानुन व्यवसायी अधिवक्ता महेन्द्र पाण्डेले बताउनु भयो । यातायात सम्बन्धी प्रचलित कानुनअनुसार ६ चक्के ट्रकले ९ दशमलव ६ टन, १० चक्के ट्रकले १६ दशमलव २ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन भन्दा र १८ चक्केले ३० टन भन्दा बढी भार बोक्न पाउदैनन् ।
नेपालमा ३० टन भन्दा बढी भार बोक्नै पाईदैन । नेपालका सडक र पुलको क्षमताअनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारी साधनले आफ्नो क्षमताभन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् ।
९६ टन सम्म भारवाहन गरेका मालवाहक गाडीहरु नेपाल भित्रिरहदा ट्राफिक प्रहरीले १ हजार ५ सय जरिवाना लिएर नेपाल भरि प्रवेशको स्विकृति दिईरहेको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले अहिले भन्सारमा ७० प्रतिशत औद्योगिक समान आउने र यी समानलाई पल्टि गर्दा लागत वृद्धि सहित स्थानको अभाव हुन सक्ने बताउनु भयो । तर पल्टि हुन सक्ने समानहरुको हकमा भैरहवा भन्सार कार्यालय सकारात्मक रहेको प्रमुख भन्सार अधिकृत नारद गौतमले बताउनु भयो ।