रोटरीको स्थापना दिवसमा ‘रोटरी वीक’ गरिँदै

1.3K

रोटरीको स्थापना दिवसमा ‘रोटरी वीक’ गरिँदै

रोटरी इन्टरनेशनल स्थापना दिवस ‘रोटरी डे’को अवसर पारेर रोटरी डिष्ट्रिक ३२९२ ले रोटरी सप्ताहको तयारी गरेको छ । अमेरिकाको सिकागोमा सन् १९०५ फेब्रुअरी २३ मा रोटरी इन्टरनेशनल स्थापना भएको थियो ।
रोटरी इन्टरनेशनल स्थापना दिवसको अवसरमा आरआई डिष्ट्रिक ३२९२ ले डिष्ट्रिकका सातवटै रिजनलाई समेटेर फेब्रुअरी ११ देखि रोटरी वीक मनाउन लागिएको डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यसअवसरमा रोटरीका २० वर्ष पुराना सदस्यलाई सम्मान गरिने छ । त्यसको लागि फेब्रुअरी २३ मा पाटन दरवार स्क्वायरमा कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै फेब्रुअरी ११ देखि पुर्वको मेचिदेखि साईकल यात्रा पनि सुरु हुँदैछ ।

त्यसैगरी पोखरामा अन्तर्राष्ट्रिय म्याराथन पनि आयोजना गरिएको छ । उक्त म्याराथनमा १५ देशका ८ हजार बढी सहभागि हुने डिष्ट्रिक गभर्नर ध्वजूले जानकारी गराउनु भयो । त्यसैगरी यही चैतको २, ३ र ४ गते बुटवलमा डिष्ट्रिक कन्फ्रेन्स आयोजना गरिएको छ । डिष्ट्रिक कन्फ्रेन्स बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ ।
उहाँका अनुसार अमेरिकाको सिकागोबाट सुरु भएको रोटरी अहिले २०५ वटा देशमा विस्तार भएको छ भने यसका १२ लाख बढी सदस्य रहेका छन् । त्यस्तै डिष्ट्रिक ३२९२ मा नेपाल र भुटान रहेका छन् । यो डिष्ट्रिकमा १५४ वटा क्लव छन् । भुटानमा यसको एउटा मात्रै क्लव रहेको छ भने बाँकी १५३ वटा क्लव नेपालमै छन् । नेपालमा मात्रै यसका ६ हजार बढी सदस्य रहेको उहाँले जानकारी गराउनु भयो ।