आजदेखि नेपाली काँग्रेसको महासमिति बैठक सुरु हुँदै छ । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता ः स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने नारासहित चार दिनसम्म चल्ने महासमिति बैठक दिउँसो १ बजेदेखि सुरु हुन लागेको हो ।
बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुहुनेछ । पार्टी प्रवक्ता अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन माथि समूहगत छलफल हुने छ । तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाएर छलफल गर्ने तयारी गरिएको छ । तर महामन्त्री थापाले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनमा सहमति जुट्न सकिरहेको छैन । थापाको प्रतिवेदनमा निर्वाचन पूर्व गठबन्धन नहुने उल्लेख छ भने संस्थापन पक्षले त्यसलाई अस्वीकार गरेका कारण सहमति जुट्न नसकेको हो । तथापी महासमिति बैठकको उद्घाटन पश्चात बस्नेगरी यस अगाडि बसेको सभापति देउवा र महासमन्त्री थापाको बैठक निश्कर्षहिन टुंगिएको छ ।
बैठकमा आधिकारिक प्रतिनिधिको संख्या २ हजार १०५ भए पनि सहभागीको संख्या २ हजार ५ सय बढी हुनेछ । केन्द्रीय समितिका १६५, संघीय निर्वाचन क्षेत्रबाट १ हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना बैठकमा सहभागी हुने छन् । ७७ जिल्लाका पार्टी सभापतिहरु बैठकमा सहभागी हुनेछन् । महासमिति सदस्य नभएका ४६ जिल्लाका सभापतिलाई आमन्त्रित सदस्यका रुपमा बोलाईएको छ ।
महासमिति बैठकमा सहभागी हुने प्रत्येकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । महासमिति बैठकमा सहभागी हुनेले आवासको व्यवस्था आफैंले गर्नुपर्ने छ । उद्घाटन र समापन हुने दिनको नास्ता र खानाको व्यवस्था पनि सहभागी आफैंले गर्नुपर्ने छ । अन्य दिनमा भने बिहानको नास्ता र खाना व्यवस्था पार्टीले गर्नेछ । महासमिति बैठकस्थलबाट आवाससम्म पुग्नका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ ।