गुल्मीको मदाने गाउँपालिकाले आयोजना गरेको दोस्रो अध्यक्ष कप अन्तरपालिका भलिवल प्रतियोगिताको उपाधि मुसिकोट गाउँपालिकाले हात पारेको छ ।
मदानेको वडा नं. ७ भनभने कुडापानीमा भएको फाईनल प्रतिस्पर्धामा चन्द्रकोट गाउँपालिकालाई रोक्दै उपाधि मुसिकोटले हात पारेको मदानेका प्रमुख कार्यकारी अधिकृत शालिकराम पन्थीले जानकारी गराउनु भयो ।
प्रतियोगिताको उपाधि विजेता मुसिकोटले १ लाख ११ हजार १ सय ११ रुपैंया नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै मुसिकोटसंग हारेर दोस्रो स्थानमा समेटिएको चन्द्रकोटले ५५ हजार ५ सय ५५ रुपैंया प्राप्त गरेको छ । ११ टिमले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा सत्यवती गाउँपालिका तृतीय भएको छ । तृतीय भएको सत्यवतीलाई २५ हजार ५ सय ५५ रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा विजयी टिमलाई मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले पुरस्कार प्रदान गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले मदाने गाउँपालिकालाई भलिवलको माध्यमबाट पहिचान बनाउनको लागि पालिकाले भलिवल खेललाई प्राथमिकता दिएको पनि उल्लेख गर्नुभयो । स्वास्थ्यका लागि खेलिने खेलका माध्यमबाट पालिकाको पहिचान स्थापना गर्नको लागि पालिका संगै लेखसंग सम्बन्धि संघसंस्था पनि लाग्नुपर्ने उहाँको भनाई थियो ।

त्यस्तैगरी वडा स्तरी अध्यक्ष कप महिला भलिवल प्रतियोगितामा वडा नं. ३ सिर्सेनी प्रथम, वडा नं. ५ मलागिरी द्वितीय र वडा नं. ६ पुर्कोट दह तृतीय भएका छन् । प्रतियोगितामा मदानेका सातवटै वडाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम भएको वडा नं. ३ सिर्सेनीलाई ३३ हजार ३ सय ३३, द्वितीय भएको वडा नं. ५ मलागिरीलाई २२ हजार २२ सय २२ र तृतीय भएको वडा नं. ६ पुर्कोट दहलाई ११ हजार १ सय ११ रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।